सुरेश भट्ट आश्रिन । नेपाली भाषा, साहित्य र कृति लोकार्पण आदि जस्ता कार्यक्रम आजभोलि अन्तर्राष्ट्रिय डायसपोरामा पनि हुने गरेका छन् । नेपालीहरु जहाँ पुग्दछन् उनीहरुसँगै हाम्रा साहित्य सिर्जनाहरु पनि त्यहीँ पुग्ने गरेको पाइन्छ ।

साहित्य आफैंमा विश्व नियाल्ने आँखीझ्याल भएकाले पनि समयक्रमसँगै डायस्पोरिक लेखकहरू संसारभरि फैलँदै गएका छन् । यसक्रमसँगै साहित्यिक संस्थाको आवश्यकता र महत्त्व पनि बढ्दै गरेको छ ।

नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय नेपालमा साहित्यकारका रूपमा स्थापित भएका साहित्यकारहरु मात्र नेपाली डायस्पोरामा हुने कार्यक्रमका लागि आउने जुन रित बसेको थियो, त्यो रित तोडिएको बताउँछन् मुक्तकार सोतन्त्र नेपाल ।

नेपालमा पनि साहित्यको क्षेत्रमा हजारौं व्यक्तिहरूले कलम चलाउँछन् तर सबैको स्तरीय हुन्न । यद्यपि स्तरीय भएपनि ओझेलमा पारिएका/परेका नव सर्जकलाई रमेश स्मृति कोषले प्रोत्साहन गर्दै आएको कार्यक्रम संयोजक कवि दीप मिलन बताए । उनले यसपाली रमेश स्मृति कोषले प्रदान गर्दै आइरहेको “रमेश स्मृति पुरस्कार -२०८०” समर्पण कार्यक्रम तथा गजलकार “केबी धुँवाले”को एकल रचना वाचन कार्यक्रम दोहामा हुने उनले अकवरेलाई जानकारी दिए ।

रमेश स्मृति कोष नेपाल र समाज सेवा अभियान रूपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठन रूपन्देही र विशाल अनलाइन सोलुशन बुटवलको सहकार्यमा उक्त कार्यक्रम गरिने भएको हो । कोषले उक्त सम्मान “भत्किएको पर्खाल” कृतिका लेखक “सरस्वती बस्याल”लाई प्रदान गर्ने घोषणा गरेको छ।

कतारको नज्मामा अवस्थित एसियन स्टार रेष्टुरेण्टमा यही मे१७ तारिख शुक्रबार दिनको २-४ बजेसम्म हुने उक्त कार्यक्रममा लेखक पूर्ण बिसीको “आमा” उपन्यास तथा सरस्वती बस्याल र समीम गैरेको संयुक्त मुक्तक संग्रह “भत्किएको पर्खाल”को सार्वजनिक तथा लोकार्पण कार्यक्रम पनि गरिने भएको छ।

कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका साहित्यकार , पत्रकार , समाजसेवी लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइ सम्पुर्णलाई उपस्थितिका लागि आयोजक संस्थाले अपील गरेको छ ।