नेपाली गजल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यस वर्षको गजल प्रतिभा पुरस्कार तनहुँका गजलकार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ ।
गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने यो पुरस्कार गजलकार भट्टराईलाई प्रदान गरिने निर्णय भएको सन्ध्याका अध्यक्ष मोहन भण्डारीले बताए ।
एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु. एक लाखको अक्षय कोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु. १५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।
कोभिड–१९ का कारण मोती जयन्तीका अवसरमा प्रदान गरिने पुरस्कार यस वर्ष भने स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
भट्टराई हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।
यसअघि मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट भट्टराई पुरस्कृत भइसकेका छन् ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका भट्टराईका ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी दुइ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन भएको छ भने करिब १ दर्जन गीत र गजल रेकर्ड भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।