
गीतकार गोविन्द नागिला नयाँ गीत ‘आमा तिमीलाई…’ बोलको गीत प्रकाशनमा ल्याएका छन् । शान्तिश्री परियारको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अभिनेत्री शील्पा पोखरेलको मुख्य अभिनय रहेको छ ।
मातातीर्थ औँसीको अवसर पारेर प्रकाशनमा आएको गीतको भिडियोमा शील्पालाई सँगी अधिकारी पोखरेल, इन्द्रिरा भण्डारी नागिला तथा युसा भण्डारीले अभिनयमा साथ दिएका छन् ।
आमा गुमाएपछि आमाको सम्झनामा केही गर्ने हुटहुटीले “आमा तिमीलाई…” गीत बनाएको गीतकार नागिलाले बताए । उनले भने, “१२ वर्षमा खोलो पनि फर्कन्छ भन्थे, हो रहेछ । १२ वर्षदेखिको हुटहुटी अहिले आएर पूरा भयो । ठ्याक्कै आजको एक वर्षअगाडि अर्थात २०८० वैशाख २६ गते मण्डला थिएटरमा तात्कालीन पर्यटन मन्त्री मा. सुदन किराँतीज्यूले ‘मैले आमालाई नदेखेको सपनी र रात हुन्न’ भनेपछि मेरो १२ वर्षदेखि सुषुप्त अवस्थामा मानसपटलमा रहेको इच्छा पुनः जागृत भयो । र, मजस्तै आमा गुमाएका टुहुराहरूको पीडामा यो गीत जन्म्यो ।’
गीतको भिडियोमा तीन छोरीहरू क्रियापुत्रीका रूपमा देखिएका छन्, जुन गीतको माग भएको बताउँछन् गीतकार नागिला । गीतका माध्यमबाट जिउँदोमा पनि, मरेपछि पनि छोरासरह छोरीलाई आर्थिक, सामाजिक र धार्मिक हिसाबले बराबरी अधिकार दिनुपर्छ भन्ने सन्देश दिन खोजेको उनी बताउछन् । उनी भन्छन्, “सन्तान जन्माउँदाको पीडा छोरा होस् वा छोरी, आमालाई एकै हुन्छ । साथै कानुनमा समानताको कुरा गर्ने व्यवहारमा नउतार्ने ढोगी समाजलाई बुजाउन पनि खोजेको हुँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

