साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा कलाकार राम के.ए.सी.को नवीनतम कवितासङ्ग्रह ‘अर्धब्रह्म’ प्राप्त भएकाे छ ।

नेपाल भाषा र नेपाली भाषा दुवैमा कवि लेख्ने के.ए.सी.को यस सङ्ग्रहमा पनि एकै कविता दुई भाषामा एकसाथ प्रस्तुत गरिएको छ ।

‘समयको स्पन्दन, युगको आवाज र नेपाली समाजका कथाहरु नै यस सङ्ग्रहका कविताहरु हुन् । जीवन र जगत्को यथार्थ विषय र प्रस्तुतिले कविताहरु शक्तिशाली बनेका छन् । विचार र कलात्मकताले जति सुन्दर छन् त्यति नै बलिया छन् । बगरमा फालिएका ढुङ्गालाई कुँदेर सुन्दर मूर्ति बनाएजस्तै कविता छन् । सबैले भोगिरहेको आजको यथार्थ नै सङ्ग्रहका कविता बनेका छन् ।’, वरिष्ट पत्रकार तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ भूमिकामा लेख्छन्, ‘रङ्गकर्मीका रुपमा प्रसिद्धि कमाएका कवि राम के.ए.सी. यस कवितासङ्ग्रहको प्रकाशनपछि नेपाली कविता क्षेत्रमा विशिष्ट स्थान बनाउन सक्ने कुरामा कुनै शङ्का छैन ।’

साहित्यकार ध्रुव मधिकर्मी नेपाल भाषामै लेखेको भूमिकासमेत पुस्तकमा सङ्ग्रहित छ ।

पुस्तकलाई सद्भाव थिएटरले प्रकाशनमा ल्याएको हो । ३६ शीर्षकका कविता नेपाल र नेपाली दुबै भाषामा सङ्ग्रहित कविताकृतिको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।