
डेब्यु गैरआख्यान विधाको कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट ८ गैरआख्यानकृतिहरूको सूचीमा जिग्मे लामाको ‘अमरभूमि’ पर्न सफल भएको छ ।
पच्चीस वर्षदेखि समाजिक विकासका कार्यहरुमा संलग्न हुँदै आएका ग्रामीण विकासविद् तथा बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) को यात्रा वृत्तान्त हो ‘अमरभूमि’ । लामाले पुस्तकमा दिगो सुख र अमरत्वको खोजी गरेका छन् ।
लामाले पुस्तकमा कर्णाली र कैलाश क्षेत्र हुुँदै देश तथा विदेशका विविध भूगोल, समाज तथा इतिहासको वृत्तान्त कहेका छन् । साथसाथै, अन्तर्मनको सुख तथा समृद्धिको खोज पुस्तकको केन्द्रमा रहेको देखिन्छ । गैरआख्यान अध्ययनका पारखीहरुका लागि पुस्तक गतिलो खुराकका रुपमा तयार भएको छ ।
पुस्तकलाई बुक्स हिमालयले प्रकाशनमा ल्याएको हो । १२ अध्यायमा सङ्ग्रहित पुस्तक ‘त्यो विशाल ताला’बाट सुरु भएर ‘मायावी जीवन’मा टुङ्गिएको छ ।
छानिएका डेब्यु गैरआख्यान कृतिहरूमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ तथा कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ रहेका छन् ।
यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त १९ गैरआख्यानका कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’को सूचीमा ‘फूलबारीको जुके गणतन्त्र’

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘खाइराइड’

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘मगर संस्कृति, परम्परा र गरिमा’
