कवि तथा गीतकार डम्बर यक्सोको कवितासङ्ग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण गरिएको छ । ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि श्रवण मुकारुङ्द्वारा पानसमा बत्ती बालेर कृति लोकार्पण गरिएको हो।
कृतिको लोकार्पणपछि कवि मुकारुङले कवि तथा गीतकार यक्सोको कविताका बारेमा चर्चा गरेका थिए । उनले पहिलाबाट नै गीत तथा कवितासङ्ग्रह निकाल्नुपर्नेमा जोड दिए।
प्रमुख अतिथि मुकारुङले भने, ‘डम्बर यक्सो लिम्बूज्यूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह र जटिल छैनन् । यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् ।’
उनले कृतिको बारेमा थप चर्चा गर्दै भने, ‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ ।’
कवि डम्बर यक्सोको सिर्जनाले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरामा सङ्केत गरेको बताए । संघर्ष नै जीवन हो भन्ने निष्कर्ष कृति मार्फत आफूले पाएको उनले तर्क गरे । यस कृतिको समीक्षा कवि तथा गीतकार गोपी कृष्ण प्रसाईँले गरेका थिए । उनले कवितामा देशभाव र आफ्नो गाउँठाउँलाई समेटेर सुन्दर तरिकाले लेखेको भन्दै कृति र लेखकको चर्चा गरे ।
लोकार्पण कार्यक्रममा वरिष्ठ सङ्गीतकार प्राज्ञ शान्तिराम राई, सङ्गीतकार दिनेश काजि बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उपेती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टङ्कबहादुर चोबेगुले कृतिमाथि थप चर्चा गरेका थिए । उनीहरुले कृतिको सफलताको शुभमकामना दिँदै आगामी दिनमा कलम चलाइराख्न लेखकलाई सुझाव दिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।