डिजी शर्मा, युएई । गजलकार तथा मुक्तककार सरोज रावल सङ्गमको पहिलो साङ्गीतिक गजल ” चञ्चल” सार्वजनिक भएको छ ।

“नसोधेर दिलमा, सजायौ तिमीले/शान्त मन चञ्चल बनायौ तिमीले” बोलको गजलमा गायिका बबिना भट्टराईको आवाज र उहाँकै सङ्गीत रहेको छ । यस गजललाई गायिका भट्टराईको आफ्नै युट्युब च्यानलबाट गत अप्रिल १५ तारिख सार्वजनिक गरिएको थियो ।

गजलमा सञ्जय श्रीपालको सङ्गीत संयोजन रहेको छ । त्यसैगरी, प्रकाश खरेलले गजलको मिक्सिङ र मास्टरिङ गर्नुभएको हो । जस्केलो क्रिएसनद्वारा निर्माण गरिएको गजलको म्युजिक भिडियोमा स्वयम् गायिका भट्टराईको मुख्य अभिनय देख्न सकिन्छ ।

रोजगारीको सिलसिलामा पछिल्लो झन्डै एक दशकदेखि युएईमा रहनु भएका गजलकार सरोज सङ्गम विशेषगरी गजल र मुक्तक लेखनमा सक्रिय हुनुहुन्छ । म्याग्दीको बेनी स्थायी बसोबास रहेका गजलकार सङ्गम दुई दशकदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।

यसअघि २०७५ सालमा उहाँको मुक्तक सङ्ग्रह “गाथा” प्रकाशित छ । त्यसैगरी विभिन्न पत्र-पत्रिकामा फुटकर रुपमा उहाँका मुक्तक र गजल प्रकाशित हुँदै आएका छन् ।

युएईमा रहेको सिर्जना वाचन डबलीका सक्रिय सदस्य रहनु भएका गजलकार रावल धौलागिरी कला तथा साहित्य मञ्च बाग्लुङको आजीवन सदस्य हुनुहुन्छ ।