डेब्यु आख्यान विधाको कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट १० आख्यानकृतिहरूको सूचीमा वसन्त बायुङ राईको उपन्यास ‘कठुवा‘ पर्न सफल भएको छ ।

वसन्त वायुङ राईको उपन्यास हो ‘कठुवा’ । किरात राईको साँस्कृतिक जीवनको एक अभिन्न अङ्ग हो कठुवा । पाहुना जाँदा कोसेली बोक्ने भाँडो काठको भाडोलाई कठुवा भनिन्छ । र, राईले कठुवालाई बिम्बका रुपमा टिपिएर उपन्यासमार्फत् उनले साँस्कृतिक पहिचानका पक्षमा आवाज बुलन्द बनाएका छन् ।

उपन्यासमा पहिचानको नवीन अस्तित्वका साथै भाषा, संस्कार र संस्कृतिलाई आख्यानीकरण गरिएको छ । मुख्यतः पूर्वी पहाडको किराती समुदायको कथालाई उपन्यासमा समेटिएको छ ।

२ सय ९६ पृष्ठमा फैलिएको उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

छानिएका डेब्यु आख्यानकृतिहरूमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला‘, अनु विज्ञातिको लघुकथासङ्ग्रह ‘अक्षर रेखा‘, वसन्त बायुङ राईको उपन्यास ‘कठुवा‘, अतुल पोखरेलको उपन्यास ‘तेजस्विनी सदन‘, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो‘, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली‘, रविन्द्र केसीको कथासङ्ग्रह ‘सम्बन्धको दोबाटो‘, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’, सागर खड्काको उपन्यास ‘राइपाली भन्ञ्याङ‘ र डा. कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप‘ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त ३७ आख्यानकृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल आख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।