वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा ‘सिर्जनात्मक लेखनमाला – ४’ सफलतापूर्वक सम्पन्न भयो ।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट डा. ऋषि बास्ताकोटीले अतिथि वक्ता लेखक डा. नीलम कार्की निहारिका र सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै लेखक कार्कीको संक्षिप्त परिचय दिए ।

कविता, कथा हुँदै उपन्यासमा सक्रिय कार्कीले ऐतिहासिक उपन्यास ‘योगमाया’को निम्ति २०७४ सालमा मदन पुरस्कार प्राप्त गरेकी थिइन् । उपन्यासको कथावस्तु राणाशासन कालमा समाज सुधारका लागि विद्रोह गरेकी योगमायाको जीवनीमा आधारित छ । साथै, ‘द्रौपदी अवशेष’को निम्ति गंकी धुस्वाँ वसुन्धरा पुरस्कार – २०७८ र ‘चीरहरण’ उपन्यासको निम्ति पद्मश्री साहित्य पुरस्कार– २०७२ बाट पनि कार्की सम्मानित छन् ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेकी लेखकसँगको अन्तर्सम्वादले वन तथा वातावरणकर्मीहरुको लेखन यात्रालाई सघाउने विश्वास आफूले राखेको बास्ताकोटीले बताए ।

अन्तर्सम्वाद कार्यक्रमलाई सहजकर्ता कमला रुपाखेतीले अघि बढाएकी थिइन् ।

लेखक कार्कीसँगको संवाद चार खण्डमा बाँडिएको थियो । पहिलो चरण, प्रेरणा र प्रारम्भिक लेखन । दोश्रो चरण, लेखकीय अनुभव र गृहस्थी जीवनबिचको सन्तुलनको चुनौती । तेस्रो चरणमा साहित्यमा अनुसन्धानको महत्त्व र मदन पुरस्कार पाउँदाका अनुभूतिहरु । र, अन्त्यमा साहित्यमा रुचि राख्ने लेखकहरुका निम्ति सुझावहरु ।

कमला रुपाखेतीसँगको वार्तालापमा आफ्नो बाल्यकाल ग्रामीण क्षेत्रमा बितेको र रातमा आमाले सुनाउने कथाले विस्तारै आफूलाई साहित्यप्रति नजानिँदो किसिमले आकर्षित गरेको लेखक कार्कीले बताइन् । महिलाको मुद्दालाई आख्यानको विषयवस्तु बनाउन निपूर्ण कार्की प्रयास: ऐतिहासिक पात्रहरु छनौट गर्छन् । ऐतिहासिक उपन्यासमा सकुन्जेल तथ्य र सत्यको नजिक लग्न प्रयास गर्ने उनी सन्दर्भ सामग्रीहरुको सङ्कलन सबै भन्दा बढी चुनौतीपूर्ण रहेको बताउछिन्  ।

साहित्यिक वातावरणको प्रभाव सबै लेखकमा धेरै थोरै पर्ने बताउने उनी नेपालमा रहँदा कविता वाचनको माहोल भएकोले कवितामा केन्द्रित भएको तर अमेरिका गएपछि आख्यानमा लागेको उनी बताउछिन् । अमेरिकामा बसेर लेख्दा सन्दर्भ सामग्री सजिलो गरि उपलब्ध हुने र स्थलगत भ्रमण कठिन हुने बताइन् ।

रेडियो नेपालमा कार्यरत रहँदा दाहाल यज्ञनिधीले योगमायामाथि उपन्यास लेख्न सुझाएपछि, त्यही सृजनात्मक दबावको कारण ऐतिहासिक उपन्यास योगमाया लेखेको कार्की बताउछिन् ।

साथमा लेखक कार्कीले “तिमी जन्मिएको दिन” कविता पनि वाचन गरेकी थिइन्  । उक्त कवितामा सन्तान जन्मिएपछि आमाको ह्दयमा उत्पन्न हुने भावको सूक्ष्म र मर्मस्पर्शी चित्रण गरिएको छ ।

रोशन शेरचनले अन्तरसम्वाद र प्रश्नोत्तर कार्यक्रमको निचोड प्रस्तुत गर्दै इच्छाशक्तिका धनी र तीव्र संवेदना भएका कार्कीको लेखनको विशेषता नारीहरुको कथा-व्यथा, भोगाइ, सङ्घर्ष अनि विद्रोहलाई ऐतिहासिक परिप्रेक्ष्यमा लेख्नु रहेको बताए ।

हिमाली संरक्षण समूहका भरतमान श्रेष्ठले लेखक कार्कीलाई आफ्नो अमूल्य धारणाहरु राखिदिएकाेमा आयोजक तथा संयोजक संस्थाको तर्फबाट धन्यवाद दिए ।