माधव पोखरेल गोज्याङ्ग्रे, उदयपुर । उदयपुरको गाईघाटमा वैशाख १२ गतेबाट प्रारम्भ भएको कोशी प्रदेश स्तरीय तेस्रो औद्योगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सवमा विद्यालय स्तरीय प्रतिगोगितात्मक कवि गोष्ठी सम्पन्न भएको छ ।

उदयपुरका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी साहित्यकार कौशल चेम्जोङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बोल्दै चेम्जोङले यस्तो महोत्सवमा कविता प्रतियोगिताको आयोजना गरेर साहित्यिक प्रतिभा जन्माउने प्रयास र पहल गर्नु अत्यन्त महत्त्वपूर्ण काम भएको बताउनु भयो । चेम्जोङले आजका कलिला भाइबहिनीहरुको सिर्जनाले भोलिका लागि ठूलो हौसला र प्रेरणा पाउनुका साथै स्थापित साहित्यकाका रुपमा चिनिन पनि सहयोग पुग्ने बताउनु भयो ।

उक्त कविता प्रतियोगितामा जनता माध्यमिक विद्यालय देउरीकी मनिका विश्वकर्माको ‘विधुवा भए’ शीर्षकको कविता प्रथम, त्रियुगा नमुना मावि गाईघाटका सुरेश विश्वकर्माको ‘स्वर्गरुपी मेरो देश’ शीर्षकको कविता द्वितीय र सगरमाथा मोडल स्कुलकी गरिमा तिम्सिनाको ‘सपनाहरु बाटोमै सीमित शीर्षकोको कविता तृतीय भएको निर्णायक मण्डलका सदस्य कुमार कोइरालाले बताए ।

तीन जनाको निर्णायक समितिमा शारदा प्रसाद भट्टराई, कुमार कोइराला र तेजनारायण शेर्पा रहेका थिए ।

एक दर्जन बढी प्रतियोगी विद्यार्थीको सहभागी रहेको सो कविता प्रतियोगितामा लौवागढी माविकी कुञ्जना थापा र विनिता कार्की, जनता मावि देउरीका सञ्जिव दासले र  बालमन्दीर मावि बोक्सेका विवेक राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेहरुलाई यही १८ गते मंगलबार, औद्योगिक प्रदर्शनी समापन हुने दिन पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने छ ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका उदयपुर जिल्ला शाखा अध्यक्ष मधुकर थापा, तेजनारायण शेर्पा, टंकबहादुर आले मगर, हर्क नारायण श्रेष्ठ, शारदा प्रसाद भट्टराई, सरिता पौडेल गुरागाई, विश्व राई, माधव पोखरेल गोज्याङ्ग्रे, देवेन्द्र पोखरेल, चन्द्रनारायण चौधरी लगायतले अप्रतियोगी कविता वाचन गरेका थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा भएको सो प्रतियोगिताको अध्यक्षता माधव पोखरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सरिता पौडेल गुरागाईले गर्नुभएको थियो ।