लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा ‘पैसाको उडान’ प्रकाशित भएको छ ।
राजनीतिको कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको विषयमा यो उपन्यास लेखिएको छ ।
पैसालाई आवश्यकता पूरा गर्ने साधनको रुपमा नलिएर मृगतृष्णाको रुपमा लिँदा समाजका हरेक तह र तप्का व्यापारी भएको तर पैसाले एउटा सीमित समयसम्म मात्र खुसी प्रदान गर्ने तथ्यलाई नबुझ्दा जीवन पैसाको दास भएको तथ्य ५६ वटा च्याप्टरमा मार्मिक ढंगले उजागर गरिएको छ । आम छोराछोरी विदेश बस्ने तर यहाँ बाबुआमाले जीवनभर कमाएको पैसा भविष्यमा कसैलाई पनि काम नलाग्ने अवस्थाले मानसिक विचलन ल्याएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ ।
पारम्परिक रुपमा लेखिँदै आएको उपन्यासको ट्रेन विपरित समीरले मृत्युको आयु तथा कोरोनातन्त्र पनि लघुकथा शैलीमा लेखेका थिए । यी कृतिले उपन्यास लेखनको नयाँ आयाम देखाउन सफल भएका छन् ।
डा. समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, एकलव्य दृष्टि, भूकम्पमा मल्हमपट्टी, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा पुस्तक प्रकाशित छन् ।
समीरले पद्मश्री पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल सम्मानलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार/सम्मान प्राप्त गरेका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३ सय २५ रूपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।