भक्तपुर । वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःको पन्ध्रौँ कथासङ्ग्रह मिसा पासामाथि भक्तपुरमा अन्तरक्रिया गरिएको छ ।

सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा मिसा पासाका कथाको साथै नेपालभाषाका कथामा आएको प्रवृत्ति, कथाले अंगाल्नु पर्ने नयाँ नयाँ विषय तथा कथाको प्रभावकारीताबारे चर्चा गरिएको थियो ।

पुस्तकमाथि बोल्दै कथाकार ध्रुव मधिकर्मीले दुई भिन्न संस्कृतिको प्रभाव, कोभिडको असर, अकस्मात् भेटिएको व्यक्तिप्रतिको जिज्ञासा, दशैंमा घर जान पाउँदाको खुशी आदि विविध सन्दर्भमा हुने मनोविज्ञानलाई कथाको विषय बनाएर कथाकार धाख्वाले नेपाली जनजीवनका ससाना घटनालाई पनि कथा बनाएर लिपिबद्ध गरेको बताउनुभयो ।

प्राध्यापक तथा समालोचक प्रेमहीरा तुलाधरले धाख्वाःका कथामा सामाजिक विषयलाई सरल एवं सहज रुपमा प्रस्तुत गरिएकाले पठनीय रहेको बताउनुभयो ।

कार्यक्रममा कथाकार हरिगोविन्द भोमी, पत्रकार जितेन्द्र रसिक र पदमा खयरगोलीले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्रष्टाहरु सुरेन्द्रलाल भुजू , शाक्य सुरेन, माणिकबाबु ग्वंग, श्याम आशा, अन्जना ताम्राकार, लोकेन्द्र बज्राचार्य, पशुपति पमा, दीपक मास्के, नवीना श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

नेपालभाषा एकेडेमीले प्रकाशित गरेको उक्त पुस्तकमा विविध विषयमाथि लेखिएका पैंतीसवटा कथाहरु छन् ।