नेपाली साहित्यमा काव्यकृति (कविता, गजल, मुक्तक, बाछिटा, हाइकु, खण्डकाव्य, महाकाव्य आदि) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका कविहरू (डेब्यु कवि) का लागि खुसीको खबर ।
डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ २०८० का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूची सार्वजनिक गरेका छौँ । यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त २८ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।
छानिएका डेब्यु काव्यकृतिहरूमा सुषमा आचार्य ‘अंशु’काे कवितासङ्ग्रह ‘अक्षरको आयतन’, देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, बाबुराम भुसालको कवितासङ्ग्रह ‘अभ्यास काव्ययात्रा’, गगन याेक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङको गीत’, अमर आकाशको कवितासङ्ग्रह ‘टुङ्गना’, सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’, जानुका गुरागाईँको गजलसङ्ग्रह ‘परिवेशको सुसेली’, सुरेश राईको कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’, विजय लुइटेलको कवितासङ्ग्रह ‘समयका खुकुला चप्पल’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझकाे सङ्गत’ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।
‘०८० सालभरमा नयाँ लेखकका २८ भन्दा बढी नै काव्यकृतिहरू प्रकाशनमा आएका छन्, तर हामीले सोधखोज गर्दा नयाँ लेखकका २८ काव्यकृतिहरू पुरस्कारका लागि प्राप्त भए । केही कविहरूको पुरस्कारमा सामेल नहुने इच्छालाई सम्मान गर्दै प्रतिस्पर्धामा उहाँहरूका काव्यकृति समावेश गराएनौँ ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु काव्यकृतिहरूबाट छानिएको हो ।’
कोइरालाका अनुसार यी ११ वटा काव्यकृतिले नयाँ कविहरू के लेख्दैछन्, र नेपाली काव्यसाहित्यको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ । ‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्लो वर्षझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने ।
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा विश्वास राख्नुहुन्छ । यही कारण यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को लामो सूची क्रमशः वैशाख १८ गते मङ्गलबार र वैशाख २० गते बिहीबार घोषणा गरिने छ ।
प्रस्तुत छ, २०८० सालका उत्कृष्ट ११ डेब्यु काव्यकृतिहरूको सूची:
१. अक्षरको आयतन – सुषमा आचार्य ‘अंशु’
कवि सुषमा आचार्य ‘अंशु’को पहिलो एक पुस्तक, कवितासङ्ग्रह हो ‘अक्षरको आयतन’ । ग्रामीण विकासमा स्नातकोत्तर गरेकी आचार्यका कवितामा वर्तमान समय तथा हाम्रो समाजको प्रतिबिम्ब पाउन सकिन्छ । उनका कवितामा आफ्नै भोगाइ, भावना तथा समाजको सङ्गति तथा विसङ्गतिको चित्रण पाइन्छ ।
राष्ट्रिय साहित्य प्रतिष्ठान, काठमाडौँले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहमा ३६ थान कविताहरु सङ्ग्रहित छन् ।
२. अश्वत्थामाको निधारबाट बागमती बग्छ – देवव्रत
पछिल्लो समयका सशक्त युवा कवि देवव्रतको कवितासङ्ग्रह हो ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ । सिमान्तकृतहरुको आवाजलाई बुलन्द बनाउनु, जीवन र जगतको विचरण गर्नु तथा कवितालाई वैचारिक शिल्पीमा उतार्नु देवव्रतको खुबी हो । बिम्ब तथा प्रतिकको भरपूर प्रयोग तथा कवितामा नवीनता उनको विशेषता रहेको देखिन्छ ।
यो कवितासङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा फरक बान्कीका ३८ थान कविताहरु सङ्ग्रहित छन् ।
३. आगोको पिदार – मिथोच
युवाकवि मिथोचको नवीनतम कवितासङ्ग्रह हो ‘आगोको पिदार’ । मिथोचले समाजिक विसङ्गती तथा विभेदप्रति सालीन तर सशक्त विद्रोह गरेका छन् । कवितामा संस्कृति, मिथक र इतिहासको सशक्त प्रयोग उनको विशेषताको रुपमा देख्न सकिन्छ । नवीन र मौलिक भाषा–शैली र प्रस्तुतिमा सूत्रबद्धताले उनका कवितालाई सशक्त बनाएका छन् ।
४१ शीर्षकमा कविताहरु सङ्ग्रहित यो पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।
४. अभ्यास काव्ययात्रा – बाबुराम भुसाल
सशक्त कवि बाबुराम भुसालको पहिलो कृति हो कवितासङ्ग्रह ‘अभ्यास काव्ययात्रा’ । भुसालका कवितामा बिम्ब तथा प्रतीकको प्रयोग कम छन्, तर भावका दृष्टिले सशक्त र सन्देशमूलक रहेका छन् । जीवनदृष्टि तथा सरल दार्शनिकता उनका कवितामा प्रमुख विशेषताका रुपमा देखापरेका छन् ।
भुसाल आफैँ प्रकाशक रहेको यो सङ्ग्रहमा ५० शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।
५. केवाफुङ्को गीत – गगन योक्पाङ्देन
द पोएट आइड’को पहिलो संस्करणमा सहभागिता जनाउँदै चर्चामा आएका कवि गगन योक्पाङ्देनको कवितासङ्ग्रह हो ‘केवाफुङ्को गीत’ । योक्पाङ्देनले सुन्दर भाषा–शैली तथा प्रभावशाली प्रस्तुतिका माध्यमबाट पोएट आइडलबाटै आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यही पहिचानलाई अघि बढाउँदै सरल भाषामा आध्यात्मिक र दार्शनिक पक्षलाई जोड दिँदै उनको यो कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।
पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ३८ थान कविताहरु सङ्ग्रहित छन् ।
६. टुङ्गना – अमर आकाश
युवा कवि तथा चलचित्र अध्येता अमर आकाशको कवितासङ्ग्रह हो, ‘टुङ्गना’ । राष्ट्रिय दैनिकहरुमा नियमित रुपमा चलचित्र समीक्ष गर्दै आएको उनको यो पहिलो कृति हो । उनका कविताहरु विचारोत्तेजक बिम्बहरुको अत्यधिक प्रयोग भएका छन् । उनका कविताहरुमा व्यक्ति–मनोविज्ञान, समाज, राष्ट्र, अध्यात्म तथा विज्ञानको फ्युजन पाउन सकिन्छ ।
‘टुङ्गना’का चार खण्डमा ४० कविताहरु सङ्ग्रहित छन् ।
७. पहिरोभित्रको घाम – सुशीला खड्का ‘हसिना’
कवि सुशीला खड्का ‘हसिना’को नवीनतम काव्यकृति हो ‘पहिरोभित्रको घाम’ । वर्तमान समाजमा व्याप्त दूषित मानसिकता तथा मानिसले मानिससँगै गर्ने अमानवीय व्यवहारलाई सुशीलाले आफ्नो कविताको विषय बनाएकी छिन् । विविध किसिमका समाजिक दृव्र्यवहार, मानिसका द्वैद चरित्र तथा सामाजिक विसङ्गतीको चित्रण हसिनाका कविताका विशेषताका रुपमा देखिएका छन् ।
पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ५५ थान कविताहरु सङ्ग्रहित छन् ।
८. परिवेशको सुसेली – जानुका गुरागाईँ
गजलकार जानुका गुरागाईँको डेब्यु पुस्तक, गजलसङ्ग्रह हो ‘परिवेशको सुसेली’ । निजामति सेवामा शाखा अधिकृतका रुपमा कार्यरत गुरागाईँ समाज लेख्छिन् । समाजसँगै राजनीतिक, साँस्कृतिक र आर्थिक पक्षहरुको सशक्त चित्रण गर्छिन् । यो नै उनको गजल लेखनको विशेषता हो ।
प्रस्तुत गजलसङ्ग्रहलाई सम्पूर्ण किताबले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा १ सय थान गजलहरु सङ्ग्रहित छन् ।
९. सम्झनाको फोटोकपी – सुरेश राई
वैदेशिक रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा कार्यरत कवि सुरेश राईको कवितासङ्ग्रह हो, ‘सम्झनाको फोटोकपी’ । राईका कवितामा मानवीय संवेदनाका गहिराइहरु छन् । वर्तमान समयमा प्रविधिसँगै बढेको विकृति, प्रेम, राजनीतिक परिवेश, मातृत्व तथा प्रवासीहरुका कथा उनका कविताहरुमा प्रस्तुत भएका छन् ।
५३ थान कविताहरु सङ्ग्रहित यो सङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
१०. समयका खुकुला चप्पल – विजय लुइटेल
‘द पोएट आइडल’को दोस्रो संस्करणमा ‘टप ८’ मा प्रतिस्पर्धारत कवि हुन् विजय लुइटेल । र, उनको डेब्यु पुस्तक हो कवितासङ्ग्रह ‘समयका खुकुला चप्पल’ । उनका कवितामा जीवनका जिजीविषा, प्रेम, देशप्रेम तथा अध्यात्म चित्रण भएको पाइन्छ । सरल बिम्बमा सानदार कविता प्रस्तुत गर्नु उनको खुबी रहेको छ ।
स्वयं लुइटेलले प्रकाशनमा ल्याएको यो कवितासङ्ग्रहमा ६० थान कविताहरु सङ्ग्रहित छन् ।
११. साँझको सङ्गत – प्रकाश रम्घाली
पछिल्लो समयका प्रभावशाली कवि प्रकाश रम्घालीको कवितासङ्ग्रह हो ‘साँझको सङ्गत’ । रम्घालीले कवितामार्फत आफूले बाँचेको समयको विशिष्ट अनुभवलाई काव्यिक तवरमा लयबद्ध गरेका छन् । जीवनको महत्त्वपूर्ण समय सैनिक सेवारमा रहेका उनका कवितामा युद्ध र द्वन्द्वभन्दा बढी मानवीय संवेदनाको गहिराइ पाइन्छ । फौजीका जटिल अनुभूतिलाई समेत उनले नौलो आयामहरुका साथ कवितामा पस्केका छन् ।
पुस्तकलाई ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा छोटा आयतनका ४४ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।