कवि राजेश ढुङ्गानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ एक समारोहका बिच लोकार्पण भएको छ । सर्वनाम नाट्य घरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कविताकृति लोकार्पण गरे ।
कृति सार्वजनिक गर्दै शर्माले आफूले कवि ढुंगानाको कविता ४० वर्षअघि नै छापेको बताए । शर्माले भने, “राजेश उबेला कसैसँग नदब्ने मानिस हुन् । आज राजेश गम्भीर, सौम्य र पाको कवि भएका छन् ।”
नाट्यकर्मी अशेष मल्लले कवि ढुंगानाको कविता झन् खारिँदै गएको बताए । मल्लले भने, “राजेशमा ‘कविता छ र त म छु’ भन्ने भाव देख्छु म ।”
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले राजेश नेपाली कवितामा कलात्मक विद्रोह गर्ने सर्जक भएको बताए ।
कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल र ज्ञानु अधिकारीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे भने कवि ढुंगाना र मिना ढुंगानाले पनि बोले ।
कार्यक्रममा विमोचित कृतिभित्रबाट कविहरू राजेन्द्र शलभ, रञ्जना निरौला र श्रीबाबु कार्कीले एक एक कविता वाचन गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 








