लेखक रिवाज रोक्काद्वारा लिखित उपन्यास पथिकको एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

विश्व परिवार विकाशानन्द फाउण्डेशनको आयोजनामा काठमाडौंमा भएको सो पुस्तकको विमोचन प्रशिद्ध योग गुरु डा. विकाशानन्दद्वारा गरिएको थियो ।

काठमाडौंमा विमोचन गरिएको पुस्तकको लाइफ रिसर्च एण्ड पब्लिकेशनद्धारा प्रकाशन गरिएको हो । लेखक रोक्काद्वारा लिखित यो उपन्यास पहिलो कृति हो ।

लाइफ रिसर्च पब्लिकेशनका तर्फबाट प्रकाशक रेनुका खरेलको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा उपन्यासको बारेमा साहित्यपोस्ट साहित्यिक अनलाइनका प्रधान सम्पादक लेखक अश्विनी कोइरालाले चर्चा गर्नुभएको थियो ।

योगी डा. विकाशानन्दको प्रमुख आतिथ्यतामा र गुरुआमा कमलेश्वरीको बिशेष आतित्यतामा भएको पुस्तक विमोचन कार्यक्रममा लेखक रिवाज रोक्काले समेत पुस्तकको बिषयवस्तु र त्यसको परिवेशबारे धारणा राख्नुभएको थियो ।

आयोजक संस्थाका तर्फबाट केबी पौडेलद्धारा र्सचालन गरिएको कार्यक्रममा विकाशानन्दले दार्शनिक प्रवचन समेत दिनुभएको थियो । सामाजिक विषयवस्तु समेटिएको यो उपन्यासले मानवीय जीवनका व्यवहारिक ज्ञानका बारेमा मिहिनरुपमा प्रस्तुत गरिएको छ ।

पथिक अर्थात् एउटा पथ हो, यसरी एकप्रकारको बाटोमा यात्रा गरिरहेको व्यक्तिको वरिपरि यो उपन्यास घुमेको छ । उसलाई अरु नै केही कुराको नशा छ । त्यही नशाका कारण, ऊ प्रशिद्ध बन्छ । सफल बन्छ । पढाइबाहेक अरु कुरा पनि छन् जीवनमा । अरु व्यवहारिक ज्ञानबाट पनि सिक्न सकिन्छ भन्ने बिषयलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यस तर्कलाई उपन्यासको नायकको माध्यमबाट मनमोहक शैलीमा पेश गरिएको छ ।

लाइफ रिसर्च एण्ड पब्लिकेशनको प्रकाशनमा बजारमा आएको पथिक उपन्यास सो प्रकाशनको पाँर्चौ कृति हो । यसको मूल्य ७५५ रूपियाँ रहेकाे छ ।