चितवन । सम्पूर्ण किताब नारायणगढमा समीक्षक रमेश प्रभातको निसमालोचना कृति ‘अलिकति फरक कुरा’को विमोचन कार्य सम्पन्न भएको छ ।
समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले संयुक्त रूपमा घुम्टो उघारेका थिए ।
विमोचित कृतिका बारेमा समीक्षक सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।
उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरेका थिए ।
प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।
सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए ।
श्रीमती रेखा श्रेष्ठ प्रकाशक रहेको उक्त कृतिमा सत्ताइस वटा निसमालोचना समेटिएका छन् । जम्मा १३२ पृष्ठ रहेको उक्त कृतिको मूल्य तीन सय रुपैयाँ राखिएको छ । यसको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।