धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार दुई जना साहित्यिक व्यक्तिहरूलाई प्रदान गरिएको छ । नेपाली हाँस्यव्यङ्ग विधाका वरिष्ठ साहित्यकार चाेलेश्वर शर्मा र संस्कृत तथा नेपाली वाङमयका विराट व्यक्तित्व प्रा. डा. वेणीमाधव ढकाललाई २०७९ सालको धवल पुरस्कार अर्पण गरिएको हो ।
शर्मालाई ‘सगरमाथा एक पहाडको नाम होइन’ कृतिका लागि र ढकाललाई दीर्घ साधनाका निम्ति पुरस्कार अर्पण गरिएको धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले बताउनुभयो ।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उहाँहरूकै गृह परिसरमा गई पुरस्कार अर्पण गरिएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथि, प्रदेश सभा सदस्य वीरबहादुर रानाले विद्वान् साहित्यकारहरूलाई सुकर्म र सुकीर्तिकाे उचित मूल्यांकन गरी पुरस्कृत गरेकोमा धवल पुस्तकालयलाई धन्यवाद व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशका पूर्व मन्त्रीसमेत रहनुभएका प्रदेशसभा सदस्य रानाले धवल पुस्तकालयले पठन संस्कृतिको विकास तथा सामाजिक, शैक्षिक, सांस्कृतिक जागरण ल्याउन महत्त्वपूर्ण याेगदान पुर्याएकाे बताउनुभयो ।
तानसेन ध्रुवघाटमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व चाेलेश्वर शर्माले पुस्तकालयले उपयुक्त ठानी आफ्नो कृतिलाई पुरस्कृत गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयाे । आफ्नो स्वास्थ्यका कारण पुस्तकालयमा उपस्थित भई सम्मान ग्रहण गर्न नसकेको स्मरण गर्दै उहाँले सम्मानले अरू कृति पनि प्रकाशनमा ल्याउन उत्प्रेरित गरेको अनुभूति सुनाउनुभयो । शंकरनगर रूपन्देहीमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व वेणीमाधव ढकालले आफुलाई विशाक्त रोग लागेर स्वास्थ्य प्रतिकुल रहेको बेला घरमै पुरस्कार सम्मान अर्पण गरेकोमा पुस्तकालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले चाेलेश्वर शर्माको परिचय गराउँदै व्यङ्ग्य निबन्धका माध्यमबाट समाजमा रहेका बेथिति र विसङ्गतिमाथि निर्मम रूपमा प्रहार गरी मानवीय परिष्कारकाे आग्रह गरिएका शर्माका निबन्ध राष्ट्रिय स्तरमै उच्चकाेटिका रहेका छन् भन्नुभयो । साहित्यकार वेणीमाधव ढकालको परिचय प्रस्तुत त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शंकरप्रसाद गैरेले नेपाली र संस्कृत साहित्य विशिष्ट साधक र तपस्वी नै रहेको उल्लेख गर्नुभयो । प्रा डा. हिरण्यलाल ज्ञवालीले गुरु वेणीमाधव ढकालको विद्वत्ताकाे लाभ आफूले पनि लिएको बताउनुभयो । प्राध्यापनकालमा ढकाललाई सबै विद्यार्थीले रोज्ने र खोज्ने गर्दथे उहाँले भन्नुभयो ।
कार्यक्रम धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षता, काेषाध्यक्ष सन्ताेष खनालको स्वागत मन्तव्य र महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा चलेको थियोे । संस्कृत मनीषी वेणीमाधव ढकालका श्रीमद्भागवत, गणेश पुराण, शिव पुराण, देवीभागवत्, निर्णय सिन्धु जस्ता पौराणिक ग्रन्थको नेपाली अनुवाद, काव्यदेखि महाकाव्यसम्मको लेखन र अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन् । साहित्यकार चोलेश्वर शर्माको अप्रिल फूल निबन्ध संग्रह प्रकाशित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।