लघुकथामा पृथक अभ्यास गर्दै आइरहेको विलोमले स्रष्टा कुमुदप्रसाद शर्मा प्याकुरेलको लघुकथासंग्रह ‘छप्पन भोग’ माथि स्रष्टा, सृजना र समीक्षा कार्यक्रम सम्पन्न गर्यो ।
डा. शैलेन्दुप्रकाश नेपाल, बासुदेव ठकुरी, विनोद नेपाल र दीपक लोहनीले लघुकथासंग्रह छप्पन भोग कृतिमाथि आआफ्ना पाठकीय टिप्पणीहरू राख्नु भएको थियो । उक्त कार्यक्रममा निजामति कर्मचारीहरूको विविध अनुभूतिहरूलाई प्रसङ्गअनुरूप राख्दै बासुदेव गुरागाईंले लघुकथासंग्रह छप्पन भोगभित्र रहेका अधिकांश लघुकथाहरूको मिहिन तरिकाबाट समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा सरोजप्रसाद शर्मा प्याकुरेल र शान्ता पराजुली शर्माले कुमुदप्रसाद शर्मा प्याकुरेलका आगामी सृजनाहरू अझ सशक्त बनोस् भनि शुभकामना दिनुभएको थियो भने लेखकपत्नी रेणु भण्डारी शर्माले आफ्नो श्रीमानले राष्ट्र सेवापछिको निवृत्त जीवनलाई साहित्य सेवामा समर्पित गरेको पाउँदाल परिवारलाई नै खुसी लागेको अनुभव सुनाउनुभयो ।
निरन्तर लघुकथाको अभ्यासमा रहेको विलोमको यस्तो कार्यक्रमले स्रष्टा र सृजनामा सकारात्मक परिवर्तन ल्याउने कुरामा लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलले जोड दिनु भयो ।
लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलको छपन्न भोग लघुकथासंग्रहभित्र ५६ वटा लघुकथाहरू संग्रहित छन् । संग्रहित लघुकथाहरू संरचनागत दृष्टिकोणले सवल रही कथाहरु सामाजिक यथार्थवादी र नारीमैत्री रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।