घुम्ती कविगोष्ठी नेपालले हरेक वर्षको साउन महिनामा प्रदान गर्ने गरी काव्य विधाका दुई ओटा पुरस्कार स्थापना गरेको छ ।

जसमा घुम्ती–नालाङ काव्य पुरस्कारका लागि घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष, साहित्यसेवी श्री माधवलाल श्रेष्ठबाट आफू जन्मिएको ठाउँ नालाङका नाउँमा नगद रु.१,२५,०००।– राशिको अक्षयकोष र घुम्ती–रमा–बद्री काव्य पुरस्कारका लागि अभिनव साहित्य समाजका उपाध्यक्ष तथा घुम्ती कविगोष्ठी नेपालका कार्यसमिति सदस्य, साहित्यसेवी श्री विमल अर्यालबाट आफ्ना माता–पिताका नाउँमा नगद रु.१,२५,०००।– राशिको अक्षयकोष राखी ती पुरस्कारहरूको स्थापना गरिएको हो ।

दुवै अक्षयकोषबाट आउने ब्याजरकमबाट काव्यविधाका सबै उपविधाहरूमध्येबाट प्रत्येक वर्षको वार्षिक साधारणसभामा दुई जनालाई पुरस्कार प्रदान गरिने भएको छ । घुम्ती कविगोष्ठी नेपालको हिजो वैशाख पँच गते बसेको कार्यसमितिको बैठकले दुवै पुरस्कारको घोषणा गरेको कुरा घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डितले बताउनुभयो ।