कवि उर्मिला कोइरालाको कवितासंग्रह ‘घाममाथि घामकै किरण’ प्रकाशन भएको छ । साहित्यपोस्ट ई-दैनिकको माउसंस्था शब्दमिडिया प्रा.ली ले कोइरालाको पुस्तक ‘घाममाथि घामकै किरण’ बजारमा ल्याएको हो । वैशाख ५ गते रामनवमीको दिन रिडर्स हब भक्तपुरमा पुस्तकको विमोचन भएको थियो ।

कार्यक्रम साहित्यपोस्ट ई-दैनिकको तर्फबाट लेखक अनिता कोइरालाको सभापतित्वमा भएको थियो । पुस्तकलाई उपन्यासकार तथा समीक्षक, पद्मकन्या क्यापस नेपाली विभाग प्रमुख अम्बिका अर्याल, लेखक कोइरालासहितले लोकार्पण गर्नु भएको हो ।

सो कार्यक्रममा साहित्यकार रञ्जु दाहाल, सरस्वती चिमोरिया, शोभा शरद, भगवती बस्नेत, रचना दाहाल, रविना नराल र लक्ष्मी लामाले कविता वाचन गर्नुभएको थियो ।

कवि उर्मिला कोइरालाले आफ्नो पुस्तक बारे बोल्नु भन्दा पनि पाठकले नै मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । आफूले पाएको समयमा उहाँले ‘घाममाथि घामको किरण’बाटै दुई कविता सुनाउनु भयो ।

विमोचन कार्यक्रमका प्रमुख वक्ता डा.अम्बिका अर्यालले मञ्चमा महिलाहरूको उपस्थिति र महिलाहरूद्वारै कवितावाचन हुनु कार्यक्रमको शोभा भएको बताउनु भयो । महिलालाई श्रृङ्गारका रूपमा मात्र प्रस्तुत गर्ने चलनका बीचमा यसरी महिलालाई महत्त्व दिने कार्यक्रममा आफू समावेश हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो ।

पुस्तकको समीक्षा गर्दै डा. अर्यालले साहित्यिक क्षेत्रमा लैंगिक बहश भन्दा पहिले साहित्यको स्तरीयता र गुणात्मकता महत्त्व हुने बताउनु भयो । यो गुण कवि उर्मिला कोइरालाको पुस्तकमा स्पष्ट देखिएको बताउनु भयो । प्रायः महिला साहित्यकारहरूको पुस्तकमा घरभित्रका विषयहरू समावेश हुन्छन् । तर कोइरालाको यस पुस्तकमा भने घरभन्दा बाहिर महिलाभन्दा माथि मानवताका कुरा सघन रूपमा आएको कुरामा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै सभापति तथा साहित्यपोस्टकी लेखक तथा स्तम्भकार अनिता कोइरालाले उपस्थित साहित्यकार तथा समीक्षकहरूलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन लेखक तथा अर्थशास्त्री केशव थापाले गर्नुभएको थियो ।