पछिल्लो समय नेपाली साहित्यको समीक्षा र समालोचनाको क्षेत्रमा सक्रिय रहेका दीपक सुवेदीलाई भीमबहादुर स्मृति साहित्य पुरस्कार– २०८० प्रदान गरिएको छ ।

भीमबहादुर स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष नेपाली भाषा साहित्यको उन्नयनका निम्ति अमूल्य योगदान दिने व्यक्तिलाई प्रदान गरिँदैआएको उक्त पुरस्कार यस पटक झापाको गौरादहमा रहेर समीक्षा र समालोचनाको क्षेत्रमा कलम चलाइरहेका दीपक सुवेदीलाई पन्ध्र हजार, पाँच सय, पचपन्न नगद रुपैयाँ र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

समालोचक सुवेदीको उडिरहेका परेवाहरू (कविता, २०६१), दीपक बलेपछि (गजल, २०६१), मञ्जरी निबन्धमाला (माध्यमिक तह, २०७५), मञ्जरी बाल निबन्धमाला (आधारभूत तह, २०७५), नेपाली डायस्पोरा र अन्य सिर्जना (२०७६), सजिलो नेपाली वर्णविन्यास (२०७६), अनलाइन साहित्य र भारतेली स्रष्टावार्ता (२०७९) र हङ्कङको नेपाली साहित्य र समालोचना (२०८०) कृति प्रकाशित छन् ।

कार्यक्रममा अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका डा. मधु माधुर्यलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीद्वारा बुबाको नाममा २०७९ सालमा यो पुरस्कार स्थापना गरिएको थियो । यो पुरस्कार गत वर्ष बेलायतमा रहेर नेपाली साहित्यमा योगदान गर्दै आएकी जानु काम्बाङ्गलाई नगद पुरस्कार र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो भने असमका स्रष्टा पद्मश्री लीलबहादुर छेत्रीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहको प्रकाशन रहेको ‘परदेशी बिम्ब’ माथि दीपक सुवेदीले, सुनिता राई कन्दङ्वाको कथासङ्ग्रह ‘तिउरी’ माथि जनक ऋषि राईले, कृष्णप्रसाद गौतमको ‘लेकबेसीको स्पन्दन’ कवितासङ्ग्रह टिका आत्रेयले र सुरेन्द्र लिम्बूको ‘हामी आयामका भूइँमान्छेहरू’ माथि प्रा.डा.भीमप्रसाद खतिवडाले चर्चा गरेका थिए ।

होटल रत्न इन धरानको सभाहलमा सम्पन्न कार्यक्रम अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व र प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष भीम राई परदेशीले संस्थाको बारेमा बोलेका थिए भने कार्यक्रम सञ्चालन समूहका सचिव बुद्धितेम्बे माइलाले गरेका थिए ।