मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बर्दिबासमा बुधबार साहित्यकार स्व. पारिजातको ३१ औं स्मृति सभा सम्पन्न भएको छ ।

प्रगतिशील लेखक संघ मधेश प्रदेशको आयोजनामा भएको सो कार्यक्रम राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले पारिजातसँगै आफू धेरै समय बिताएको र महोत्तरी, धनुषा, सिरहा, सर्लाही लगायतका जिल्लामा अखिल नेपाल महिला संघको विस्तारका क्रममा बयलगाडा चढेर कयौँ दिन तराईका गाउँहरूमा पुगेको स्मरण गर्नुभयो ।

राजनीतिमा भन्दा साहित्यमा बढी चिनिनु भएकी पारिजातको राजनीतिमा राम्रो प्रभाव रहेको र राजधानीमा रहँदा बस्दा पनि लेखन र राजनीतिलाई सँगसँगै लिएर हिँडेको आफूले पाएको राष्ट्रियसभा पूर्वउपाध्यक्ष दाहालले बताउनु भयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले पनि पारिजातसँग आफूहरुले धेरै पटक कार्यक्रम गरेको स्मरण गर्दै पञ्चायतकालमा चितवनमा तत्कालिन शासकहरूले कार्यक्रम गर्न नदिँदा रेयुकाईको भवनमा कार्यक्रम गर्नु परेको र रातीको समयमा पेट्रोलमेक्स बालेर गाउँमा साहित्यिक कार्यक्रम गर्नु परेको तत्कालिन अवस्थाको रमाइलो प्रसङ्गहरू सुनाउनु भएको थियो ।

यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य जीवन स्पर्शी पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पर्नुभएको थियो भने समाजसेवी तुलसीप्रसाद ढुङ्गाना, शिक्षाविद् नारायण विक्रम थापा, पूर्व शिक्षक तथा साहित्यकार केदार कोइराला, आधारशीला गौरीडाँडा महोत्तरीका सदस्य माधव कोइराला, नेकपा (विप्लव) महोत्तरीका सचिव राजन सी लगायतका महानुभावले पारिजातको साहित्यिक, सामाजिक र राजनीतिक भूमिकाको बारेमा चर्चा गर्दै उहाँको जीवन दर्शनबाट आजको समाजले धेरैकुरा सिक्न आवश्यक रहेको बताउनुभयो ।

प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यस समितिका सचिव भीमकुमार राउतले गर्नुभएको थियो । कार्यक्रममा शुभेच्छा घिमिरे, लम्बोदर काफ्ले, भारतको सितामाढी क्षेत्रका जनवादी लेखक संघका जिल्ला कोषाध्यक्ष कमरूद्दिन नदाफ, नारद काफ्ले, पूजा महतो, सुप्रिया बस्नेत, पूर्णिमा आले, पवित्रा मगर, फुलगेन मगही, उषा तिवारी, विमला विक, नीरप्रसाद शर्मा लगायतले पारिजात विशेष रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा राजन ढुङ्गाना, हेमसागर वाग्ले ,विपिराज दहाल,नारद, सौरभ खड्का, लीलानाथ गौतम, रोजी फुयाल, सुमन सारङ्गी, रमेश खड्का, नेत्र रम्तेल, खड्ग बस्नेत, अग्नि कवच, राम मिलन, विपुल विद्रोही, जनक पौडेल, सुनिता बराललगायत विद्यार्थी भाइबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

श्री जनता मा वि गौरीडाँडाको सभाहलमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गरेका नारायण घिमिरेले उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी सभा समापन गर्नुभएको थियो ।