स्टुटगार्ट, जर्मनी / नेपाली नयाँ वर्षको अवसर पारेर एनएफसी स्टुटगार्टले आयोजना गरेको नयाँ वर्ष शुभकामना आदाप्रदान कार्यक्रमकैबीच रमण जैसेरीको ‘कथा हुन कथा हैनन्’को लोकार्पण भएको छ । पुस्तकको अनावरण क्लबका अध्यक्ष डा. पवनकुमार थापाले गरेका थिए ।
शब्दमिडिया प्रालिले नयाँ वर्ष २०८१ सँगै बजारमा ल्याएको कथा संग्रहमा १३ वटा कथा समावेश छन् । समाज र सम्बन्धका विभिन्न आयामहरूलाई विषय बनाएर लेखिएका यथार्थपरक कथाहरुमा सुदूरपश्चिमदेखि जर्मनीसम्मका विभिन्न परिवेश समेटिएका छन् । करिब डेढ दशकदेखि कथा, निबन्ध र गजलहरूमा कलम चलाउने जैसेरीले संग्रहको प्रथम पाण्डुलिपि करिब सात वर्षअघि सकेका थिए ।
‘सन् २००५ तिर आउँदा यो सहरमा नेपाली औँलामा गन्न सकिने संख्यामा थिए । एककामा तिहुन पाक्दा अर्कोले भात पकाउँथ्यो । जर्मनीका अन्य ठूला सहरमा नेपाली छन् भन्दा कस्तो कस्तो लाग्थ्यो । अब हामी कबवेब जस्तो सांगीतिक समूहलाई बोलाउन सक्ने भएका छौँ । र, आज यसरी नयाँ वर्षको कार्यक्रममा पनि यत्रो जमात भेला हुन पुगेको छ ।’ थापाले किताव विमोचन पूर्व कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै क्लबका कामहरू र क्लबले पाएको साथको प्रशंसामा बोलेका थिए । ‘त्यो पनि एक समय थियो । आज यो पुस्तक लोकार्पण गर्दाको पनि एक समय हो । भोलिका दिनमा अझै हामी बाक्लिँदै नै जाऔँला ।’
स्वावलम्बन ब्वाइज र ८५८६ जस्ता स्थानीय सांगीतिक समूहको प्रस्तुतिसमेत रहेको कार्यक्रममा १०० जना बढी सहभागीहरू उपस्थित थिए । विभिन्न नृत्य, गायन र खानपान सहितको कार्यक्रममा लोकार्पण पश्चात पुस्तक हस्ताक्षर र वितरण पनि सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।