काठमाडौँ / लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले यस वर्षको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।
उहाँहरुले सृजना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत गर्न निर्वाह गरेको रचनात्मकरुपमा भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो । शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले सम्मान प्रदान गर्नुभयो । वरिष्ठ साहित्यकार काइँलाले स्रष्टाहरु सँधै प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई रजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालित भएको बताउनुभयो ।
साहित्यकार कोषराज न्यौपानेले सम्मानित स्रष्टा पौडेल गजल क्षेत्रका सिहस्त रहेको जनाउनुभयो भने प्राज्ञ बाबा बस्नेतले सम्मानित स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताउनुभयो ।
जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण (गुरूकुल) नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेला पश्चात् पुरानो वानेश्वरको चोकमा कर्फ्यु तोडेर कविता वाचन हुँदै गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताउनुभयो । स्रष्टा चैत ३० का उपाध्यक्ष प्रकाश सिलवालले परिवर्तनलाई संस्थागत गर्न स्रष्टाहरुले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।
यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, काइँला, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाईँ, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी, विवश पोखरेल, श्यामल अधिकारी र तीर्थ श्रेष्ठ सम्मानित भइसक्नुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।