डा.पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटकसंग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्राष्टहरुले बताउनुभएको छ ।
नेपाल स्रष्टा समाजले काठमाडौँमा आयोजित अन्तरक्रियामा वरिष्ठ रंगकर्मी अशेष मल्लले नाटकमा सामाजिक चेतलाई चित्रण गरेको बताउनुभयो । ‘नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ । एकपटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खाज्ने प्रवृत्तिबाट रंगमञ्च र रंगकर्मी मुक्त हुनुपर्ने उहाँले बताउनु भयो ।
नेपाली नाटकमा विद्यावारिधि गर्नुभएकी डा. कान्छी महर्जनले ‘लासमाथिको मानवता’ नाटकमा सामाजिक यथार्थावादी धारका नाटक रहेको बताउनुभयो । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रंगमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उहाँले बताउनुभयो ।
फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले नाटकसंग्रह नाटकभन्दा  सिनेमाजस्तो लागेको बताउनुभयो । नाटकमा ग्रामीण परिवेश, भावना र नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताउनुभयो ।
थिएटर मलका निर्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटकसंग्रहले रंगमञ्चमा योगदान दिएको बताउनुभयो । नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन ।  यस्तो बेला लेखिएको नाटकसंग्रहले रंगकर्मीलाई हौसला दिएको निर्देशक श्रेष्ठले बताउनुभयो ।
नेपाल स्रष्टा सामाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा भएको कार्यक्रममा लेखक डा.पुरण राई, समाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि पुस्तकको विषयमा चर्चा गर्नुभएको थियो ।