नेपालमा माइकल चेकव पद्धतिमा कार्यशाला समापन भएको छ । यो कार्यशाला रङ्गकर्मीहरू र प्रशिक्षकहरूलाई लक्षित गरिएको थियो । कौसी थिएटर, मन्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रङ्गकर्मीहरू सहभागी थिए । यस पटक रसियन हाउस कमलपोखरीको सहयोगमा यो कार्यशाला सञ्चालन गरियो । चैत्र १७ गतेदेखि २७ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र स्कुल थिएटर नेपाल पनि जोडिएका थिए । यो कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिका लगायतबाट २५ जना रङ्गकर्मी सहभागी भएका छन् । यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु रहेको थियो ।
यसपालि अनुभवी गुरु योर्ग आन्द्रेस (Joerg Andrees) आएका थिए । उनी माइकल चेवक अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन् । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन् । विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिँदै हिँड्छन् । नेपाल आउनुअघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।
नेपालमा धेरै थिएटरहरू छन् । रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरू छन् तर कुनै विषेश पद्धति छैन । शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भइरहेका छन् । नाटक तयार भइरहेका छन् । दिग्गज प्रशिक्षकहरूले मैले यो पद्धतीमा तपाईंहरू अभिनय सिकाउँदै छु भनेर भन्दैनन् । स्तानिस्लास्की नेपालमा चर्चित छन् । स्तानिस्लास्कीका उत्कृष्ट विद्यार्थी थिए माइकल चेकव । माइकल चेकव र स्तानिस्लास्की दुवैको तौरतरिका फरक छ । माइकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवका भतिजा हुन् । स्तानिस्लास्कीले समेत माइकल चेकवको पद्धतिको प्रशंसा गरेका थिए ।
नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ ।
जब माइकल चेकवले आफ्नै पद्धतिको विकास गरे । उनी रसियाबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले । पश्चिमी समाजमा माइकल चेकवको पद्धति चर्चित छ । ओस्कार विजेता धेरै कलाकारले यो पद्धतिमा काम गर्छन् ।
यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको कुरा निर्देशक टंक चौलागाईंले बताए । गत वर्ष यसै समयमा यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।