दाङ / राप्ती साहित्य परिषद् दाङ शाखाको १६औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन,स्रष्टा सम्मान, पुरस्कर वितरण कार्यक्रम घोराहीको माला इन होटलमा भव्य रूपमा सम्पन्न भएको छ ।

परिषद्‌का जिल्ला अध्यक्ष दीपक शर्मा “समीर” को अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद्‌का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा साथै राप्ती साहित्य परिषद् केन्द्रीय निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा
कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा वरिष्ठ साहित्कार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्यका परिषद्‌का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषद्‌का दाङ शाखाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार कमलमणि देवकोटा र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाईलाई कदरपत्रले सम्मान गरिएको थियो भने यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट साहित्यकार नारायण नेपाललाई, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट साहित्यकार यज्ञबहादुर डाँगीलाई, देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट साहित्यकार छविलाल कोपिलालाई पुरस्कृत गरिएको थियो । साथै साहित्यकार खेमराज गाउँले र पत्रकार गोविन्द खड्‌कालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

प्रगतिशील लेखक संघका सल्लाहकार पद्मप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परिषद्‌को जिल्ला अध्यक्षमा साहित्यकार यम रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष सुरेशकुमार पाण्डेय, सचिवमा घनश्याम के.सी.,सह सचिव वीणा रोका क्षेत्री र कोषाध्यक्षमा सुशीला आचार्य हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा गुरुप्रसाद कुमाल (बुलबुल), अर्जुनकुमार पौडेल (अर्जुन शर), कपिल लामिछाने र नारदप्रसाद भण्डारी सर्वसम्मत ले चयन हुनुभएको छ। साथै अरू दुईजना सदस्य कार्यसमितिले थप्ने भनिएको छ ।

सो अवसरमा सम्मानित तथा पुरस्कृत स्रष्टा प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, कमलमणि देवकोटा , विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, नारायण नेपाल, यज्ञ बहादुर डाँगी छविलाल कोपिला तथा साहित्यकारहरू हिरा डी.सी., अभि क्षेत्री “समर्पण”, एकनारायण चापागाई, अर्जनकुमार पौडेल (अजु), प्रकाश केसी, कपिल लामिछाने, श्रवण नेपाली लालबहादुर आरसी लगायतले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा परिषद्‌को वार्षिक मुखपत्र साहित्यपुञ्ज विमोचन गरिएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश के.सी. गर्नुभएको थियो । वि.सं. २०३४ सालमा स्थापना भएको राप्ती साहित्य परिषद् केन्द्रले वि.सं. २०६४ सालदेखि शाखा विस्तार गरेको थियो । हाल राप्तीका ६ वटै जिल्लाका शाखाहरू सक्रिय रहदै आएको छन् ।