राज यात्री लम्साल, युएई । सिर्जना वाचन डबली युएईको आयोजना तथा गजल यात्रा अमेरिकाको सहकार्यमा आइतबार युएईको दुबईमा गजलकार रोहित रानालाई भव्य साहित्यिक कार्यक्रम गरी सम्मान गरेको छ।

दुबईको बरदुबईस्थित सिल्भर स्पून रेस्टुरेन्टमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालबाट पानसमा दीप  प्रज्वलन गरेर गरिएको थियो ।

परदेशको व्यस्त समयका बाबजुद पनि सबैलाई संयोजन गरी गरिने यस्ता कार्यक्रमहरुको खुलेरै तारिफ गर्नुका साथै उहाँले सिर्जना वाचन डबलीलाई विशेष धन्यवाद दिनुभएको थियो । साथै, उहाँले आगामी दिनमा नेपाली समाज युएईले यी र यस्तै अन्य साहित्यिक कार्यक्रमहरुसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रममा विशेष अतिथिका रुपमा बुटवल घर भई लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका गजलकार रोहित रानालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहनुभएका गजलकार रानाको विशेष गजल वाचन रहेको थियो । दुई चरणमा गरेर झन्डै एक दर्जनभन्दा बढी गजलहरु उहाँले वाचन गर्नुभएको थियो ।

लामो समयदेखि नेपाली साहित्यको श्रीवृद्धिमा उर्वर भूमि मानिने युएईमा यसरी आफू उपस्थित हुन पाउँदा  र सिर्जना वाचन डबली परिवारले गरेको सम्मानले मन अत्यन्तै हर्षित भएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले यस सम्मानले साहित्यका लागि आफूमा अरु धेरै जिम्मेवारी थपिएको कुरा उल्लेख गर्नुभयो।

सोही कार्यक्रमका बीच कवि सयपत्री थुलुङको कवितासङ्ग्रह “गाउँ फर्किरहेको परदेशी”, कवि मिथोचको कवितासङ्ग्रह “आगोको पिदार” र कवि छवि वैरागी घिमिरेको खण्डकाव्य “किनारीकृत माइली” गरी तीन कृतिहरु एक साथ लोकार्पण पनि गरिएको थियो।

त्यसैगरी, कार्यक्रममा सोसल मिडिया संयोजक सुष्मा बराल, सामाजिक अभियन्ता नवराज पाण्डे (फूलेबुढा), हेरिटेज अफ नेपाल रेस्टुरेन्टका सञ्चालक रामशरण खतिवडा, पत्रकार तथा साहित्यकार प्रकाश बञ्जारा, तनहुँ सेवा समाज युएईका उपाध्यक्ष गणेश बस्नेत, साहित्यपोस्टका युरोप संयोजक तथा कवि डिजी शर्मा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य, साहित्यपोस्टका युएई संयोजक तथा गजलकार राज यात्री लम्साल, नेपाली समाज युएई उपाध्यक्ष कमल गिरी आभा, झापाली सेवा समाज युएई अध्यक्ष अमर राई, ताप्लेजुङ सेवा समाजकी संरक्षक सोनी भण्डारी, सयपत्री तथा घान्तुत नेपाली रेस्टुरेन्टका सञ्चालक कूल लेप्चाको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी, गीतकार तथा गजलकार दिनेशराज पुरी, कवि पूजा अपेक्षा, सगरमाथा साहित्य प्रतिष्ठान युएईका पूर्व महासचिव तथा कवि डिएल घिमिरेको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा आरसी संकल्प, उमेश चन्द, कमल गिरी आभा, उपमणी सङ्ग्रौला, ओमकुमारी खाँण, राजेश भट्टराई, कान्छो भुपेन्द्र आचार्य, समीप आचार्य यात्री, एसपी माथवर, डिएल घिमिरे, आस्था निरौला, नकूल पौडेल, डिजी शर्मा, महेन्द्र विश्वकर्मा, राज यात्री लम्साल, दिनेश राज पुरी, सोनी  भण्डारी, महेश पाण्डे, हरिहर कँडेल, श्री भवानी नेपाल, जे. सागर, बिलासी मान्छे, इन्धन डिबी भण्डारीलगायत दुई दर्जन बेसी सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गरिरहनु भएका आयोजक डबलीका संयोजक तथा गजलकार जे. सागरले सिर्जना वाचन डबली अस्ताएको थिएन, केही समय सुस्ताएको बताउँदै अब फेरि जुर्मुराएको  बताउनु भयो । उहाँले डबलीका संस्थापकहरु टक गुरुङ, सुरेशप्रसाद अर्याल कान्छो, दलवीर सिंह बराइली घायल, कृष्ण विश्वकर्मा, नवराज क्षितिज, समदर्शी काइँलालगायतको सम्झना गर्नुभएको थियो ।

विगतका पानाहरु पल्टाउँदै गर्दा सिर्जना वाचन डबलीको  ब्यानरमा गजलकार/गीतकार डा. कृष्णहरि बराल, डा. कृष्णजंग रायामाझी, मञ्जु काँचुली, कृष्ण प्रसाईं, कवि विजय हितान, विष्णुबाबु देवकोटा, बादल घिमिरे, उपन्यासकार भावना कँडेल, कवि नवराज पराजुली, सञ्चारकर्मी अच्युत घिमिरे (बुलबुल), गायक राज सिग्देल र गजलकार प्रदीप रोदनलाई युएई निमन्त्रणा गरी सम्मान गरिसकिएको उहाँले जानकारी गराउनु भयो । साथै, आगामी दिनहरुमा पनि यो कार्य निरन्तर चलिरहने कुरामा उहाँले जोड दिनुभएको थियो ।

सिर्जना वाचन डबली आफैंमा संस्था नभएको र हामी आफैं मिलेर बनाइएको एक समूह भएका कारण डबली आजसम्म फुल्न सकेको  र यसलाई फुलाइरहनु हाम्रै कर्तव्य भएको बताउँदै उहाँले कार्यक्रमको विसर्जन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन घान्तुत नेपाली रेष्टुरेन्टका सञ्चालक, कवि तथा गजलकार श्री भवानी नेपालले गर्नुभएको थियो ।  कार्यक्रम युएई समय दिउँसोको १ बजेदेखि साँझ ५:३० बजेसम्म चलेको थियो ।