आफ्नो ७४ औँ स्थापना दिवसको दिन पारेर रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगिता विवादमा परेको छ । २०२२ सालदेखि निरन्तर चलिआएको र सयौँ गीतकार, गायक र सङ्गीतकारलाई विकासको आधार दिएको यो प्रतियोगितामा यसपटक देखिने गरि नै विवादमा आएको छ ।
शब्दतर्फका निर्णायक भनेर बोलाइएका माओवादी विप्लव समूहका कार्यकर्ता माइला लामाको उपस्थिति विवादको पहिलो आधार बनेको छ । आधुनिक सुगम सङ्गीतसँग खासै सानिध्य नरेहका जनवादी गायक लामा लुटपाट तथा सार्वजनिक सम्पत्तिको आगजनी अभियोगमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । कुनै पार्टीका घोषित कार्यकर्ता र पदाधिकारीलाई आधुनिक गीत प्रतियोगितामा निर्णायक बनाएर ल्याएपछि सुरुमै कार्यक्रम विवादमा आएको थियो ।
प्रतियोगिताको अन्तिम निर्णयमा उत्कृष्ट गीतलाई पछि पार्दै दावा तामाङका शब्दलाई उत्कृष्ट ठहर गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । जनवादी गायक तथा सङ्गीतकार रहेका लामा कहिल्यै पनि आधुनिक गीतका सर्जक नरहेको र यस्ता गीतको लेखकको अनुभव उहाँसँग नरहेकाले उहाँको छनोट अनुपक्त रहेको सुगम संगीतका जानकारहरूले सामाजिक सञ्जालहरुमा लेखिरहेका छन् ।
गीत तर्फ मात्र होइन, सङ्गीतर्फको निर्णय पनि विवादमा परेको छ । संगीततर्फ उत्कृष्ट भएको ज्योति प्रकाशको उनकै स्वरसमेत रहेको ‘भन्नलाई त सजिलो छ तिमीबिना बाँचेको छु’ बोलको गीत यसअघि आलोक श्रीले सङ्गीत गरेको र ईश्वर अमात्यले गाएको ‘सुन्नेलाई सुनको माला’ बोलको गीतसँग हुबहु मिलेको छ । विगतका वर्षमा उत्कृष्ट सङ्गीतकारको पुरस्कार जितिसकेका दृष्टिविहीन सङ्गीतकर्मी रमेश सुवेदीले समाजिक सञ्जालमा यो कुरा सार्वजनिक गरेका छन् ।
यी दुवै गीतलाई साझा गर्दै सङ्गीतकार सुवेदीले आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन् । केही समय अगाडि ज्योति प्रकाश मुम्बई गई मुरलीधरसँग भेटघाट गरेका, काठमाडौँमा उनी दुईको सहकार्यमा केही गीतको रकेर्डिङ पनि भएको र दुईजनाको मित्रता निकटस्थ रहेको छ । यस्तोमा, प्रस्तुतिका क्रममा सुरहरू फुस्किएको र सहभागी श्रोताहरूको प्रतिक्रियामा खासै केही नभएको ज्योति प्रकाशको सङ्गीत ‘सर्वोत्कृष्ट’ घोषित हुँदा निर्णय विवादमा परेको हो ।
यो नतिजा १८ गते (चैत) को साँझ सात बजेको समाचारमा सुनाइएको थियो । त्यो समाचार प्रशारण हुनुभन्दा करिब दुई घण्टाअघि नै रेडियो नेपालमै लामो समय कार्यरत रहेको सेवानिवृत्त भएको वरिष्ठ सङ्गीतकार नारायण ओलीले सम्भावित धाँधलीको आशङ्का गर्दैै फेसबुकमा आफ्ना विचार सार्वजनिक गरेका थिए । ‘हाम्रो बूढो रेडियो नेपाल किन थिलथिलो ?’ शीर्षक दिएर लेखेको उनको स्टाटसमा रेडियो भित्रका धेरै व्यथितिको, र यस प्रतियोगितासँग सम्बन्धित संभावित धाँधलीको आशङ्का व्यक्त गरिएको छ । ओली लेख्छन्, ‘कलाकारहरूको ऐतिहासिक थलो रेडियो नेपालमा विगतमा झैँ यसपटक पनि गीत–सङ्गीत प्रतियोगिता भएछ । रमाइलो मेला र उतस्व झैँ लाग्ने यो समय किन हो सुक्खा खडेरी परेको पोखरी झैँ भएछ । पहिला पहिला हजारौँ कलाकारहरुको उपस्थिति रहनेमा खिइँदै खिइँदै यसपटक महिनौँ विज्ञापन गर्दा अनि नेपाल टेलिभिजनको गेटमा कोही आँउछन कि भनेर दिनभर बस्दा जम्मा ४८ प्रतिस्पर्धी आएछन् अनि २१ छानिएछन् ।’ यसबाट रेडियो नेपालका साख खस्कँदै गएको उनको अभिव्यक्ति प्रस्ट छ ।
सङ्गीतकार ओलीले निर्णायकहरूको छनोटमा पनि प्रश्न उठाएका छन् । अनुभवी गायिका विमला राईलाई छनोट चरणको निर्णयक बनाइएको तर उनलाई पनि थाहै नदिई अन्तिम चरणमा उनीभन्दा कनिष्ट जनवादी गायिका लोचन भट्टराईलाई निर्णायक बनाएको भन्दै उनले असन्तुष्टि प्रकट गरेका छन् ।
रेडियोभित्रैका सङ्गीतकर्मी त्यहाँका स्थायी जागिरे हुँदाहुँदै प्रारम्भिक चरणका लागि बाहिरबाट जनशक्ति ल्याउनु अनुपयुक्त निर्णय हो भन्दै ओली लेख्छन्— ‘त्यहाँका सङ्गीत कर्मचारीको योग्यता र क्षमतामा आफ्नै संस्थाले शङ्का गर्दै गीत छनोट गर्न पनि बाहिरबाट गायिका विमला राई र एक अर्का नंयाँ साथीलाई व्यवस्थापनले भित्र्याएछ । अब भन्नुहोस्, सङ्गीत कर्मचारीको काम के हो त? के का लागि स्थाई वा करारमा लामो समयदेखि भर्ती गरिएको हो त ? बर्वामा एकचोटि बाजा मात्र बजाउने हो भने त्यो काम पनि स्वतन्त्र वाद्यबादकहरूबाट गराउन सकिन्छ । वरिष्ठ गायिका बिमला राईजीलाई छनोटमा भित्राएर उहाँको मानमर्दन गर्न पुगेको व्यवस्थापनले हेक्कै राखेनछ ।’
विमला राई २०४० सालमै कान्छी फिल्मको लोकप्रिय गीत ‘कान्छी हे कान्छी’ बोलको गीत गाएर लोकप्रिय भएकी गायिका हुन् । ओलीको आपत्तिमा गायिका राईले पनि सहमति जनाएकी छिन् । लेख्छिन्— ‘धन्यवाद नारायणजी, मेरो लागि बोलिदिनुभएकोमा । रेडियो नेपालको हालत देखेर, सुनेर दया लागेर आयो ।’
सङ्गीतकार ओलीले आफूले ७४ औँ आधुनिक गीत प्रतियोगितमा गाइएका गीत आफूले घरै बसेर सुनेको, र सुनेको आधारमा गायनतर्फ सन्देश पौड्याल प्रथम, परेश राई दोस्रो र पूर्ण बिक तेस्रो हुने अनुमान गरेका थिए । यी गायकको प्रस्तुतिबाट कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गरिरहेका श्रोता–दर्शक पनि प्रभावित थिए । तर, लोचन भट्टराईले निकालेको गायनतर्फको नतिजामा यी तिनै जना प्रतिभाको नाम गायब छ । प्रथम, द्वितीय वा तृतीय त छोडौँ, त्यसपछिका उत्कृष्ट पाँचमा पनि यी कसैको नाम छैन । वलीले अगाडि लेखेका छन्, ‘सङ्गीतको स्तर भने रमेश सुवेदीको राम्रो देखिएको थियो । परेश राईले गाएको गीतको सङ्गीत पनि राम्रै हो ।’
तर ज्योति प्रकाश र मुरलीधरको सेटिङमा ज्योति प्रकाश प्रथम भए । ओली लेख्छन्, ‘तर विशेष इन्टेलिजेन्सले ज्योति प्रकाशले पाउने भन्छ, राम जाने ।’
ओलीको आशङ्का र रेडियोले घोषणा गरेको नजिता हुबहु मिलेको हुँदा उनको आशङ्का पुष्टि भएको छ ।
प्रतियोगिताको नियम अनुसार एक सर्जकले एक सिर्जनामा मात्र सहभागिता जनाउन पाइन्छ । तर नतिजाले यो नियमसमेत उल्लघंन भएको देखाएको छ । सङ्गीतकार गौरव दर्पणले फेसबुक स्टाटसमार्फत प्रथम र तृतीय भएका दुबै सिर्जनाको सङ्गीकार आफू भएको दाबी गरेका छन् । तृतीय भएको गजल ‘साहुनीमा पिलाउनी..’मा सङ्गीतकार दर्पण नै रहेका छन् भने प्रथम भएको गीत ‘म घुम्टो उघार्छु…’को सङ्गीतकार ‘गङ्गा गौतम’ रहेका छन् । दर्पणले स्टाटसमार्फत् ‘गङ्गा गौतम’समेत आफैँ भएको दाबी गरेका छन् ।
यहाँबाट के प्रस्ट हुन्छ भने – ‘गङ्गा गौतम’ दर्पणकै छद्म नाम हो । छद्म नामको पहिचान ‘गर्न नसक्नु’ले समेत प्रतियोगिताको स्वच्छतामाथि प्रश्न खडा गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।