भक्तपुर । सिर्जना अभियान समाजले भक्तपुरमा एकदिने लघुकथा पुस्तक मेलाको आयोजना गरेको छ ।

मेलामा डेढसय भन्दा बढी लघुकथाका कृतिहरुको प्रदर्शनी तथा विक्रीवितरण भएको थियो । लघुकथाका स्रष्टा तथा पाठकहरुको उपस्थिति उत्साहप्रद रहेको र यस्ता मेलाले निरन्तरता पाउनुपर्ने, सहभागीहरुले बताएका छन् ।

सो अवसरमा सामाजिक सञ्जालमा लघुकथाको अवस्थाबारे परिचर्चा पनि गरिएको थियो । लघुकथा कृतिको प्रवद्र्धन र श्रष्टा–पाठकबीच संवाद स्थापित गर्ने हेतुले मेलाको आयोजना गरिएको समाजका सचिव धु्रव मधिकर्मीले बताए ।

वरिष्ठ लघुकथाकार तथा लघुकथा कुनोका संस्थापक नारायण तिवारीले लघुकथामा लेख्नेहरुको बाढी आओस् भन्ने हेतुले फेसबुकमा लघुकथा कुनो प्रारम्भ गरेको र अहिले त्यस्तो अवस्थाले आफूलाई खुशी तुल्याएको उल्लेख गरे ।

वरिष्ठ कवि तथा लघुकथाकार विधान आचार्यले प्रविधिले लेखकहरुलाई सजिलो तुल्याएको भए पनि पुस्तकमा रचनाको प्रकाशन गर्दा परिमार्जन र शुद्धाशुद्धीको ख्याल गर्नुपर्ने बताए ।

मेलाको लागि भैरहवाबाट आइपुगेका स्रष्टा कपिल लामिछानेले उद्धेश्य अनुरुप मेला सार्थक भएको र पहिलो पटक यसरी लघुकथा पुस्तक मेला भएकोमा खुशी व्यक्त गरे ।

समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो परिचर्चामा स्रष्टाहरु ममता मृदुल, दीपक लोहनी, बन्दना घिमिरे र संयोजक हिमलाल श्रेष्ठले पनि मेलाको सार्थकता र सञ्जालको भूमिकाबारे आआफ्ना विचार राखेका थिए ।

प्रदर्शनीमा पुष्कर भट्ट, श्रीओम श्रेष्ठ, बनमाली निराकार, हरि थापा, लता केसी, विदुर चालिसे, मञ्जु काँचुली, शेखरकुमार श्रेष्ठ, कुसुमाकर शर्मा, रुद्र अधिकारी, मनीषकुमार शर्मा, किरण आचार्य, ममता मृदुल, श्याम श्रेष्ठ, दीप मग्रांती, लक्ष्मण थापा, कल्याण पन्त, अल्पविराम पोखरेली, सृजन लम्साल, म्यामराज राई, दीपक समिप, छविलाल खड्कार मीरा काफ्ले आदि देशभित्र र बाहिर रहेका थुप्रै स्रष्टाहरुका कृति राखिएका थिए ।