साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई होमनाथ भट्टराईद्वारा लेखिएको कथा, कविता, समालोचना आदि विविध विधामा कलम चलाउनु भएको अलका आत्रेय चूडालकृत दोस्रो काव्यात्मक पुस्तक “निनाद वल्लरी” प्राप्त भएकाे छ ।

शोक खण्डकाव्य ‘निनाद वल्लरी’मा ‘शब्द यी अर्चनाका’, ‘बुवा ! अनाथ यो सुता’, ‘हेरी रहेँ आँसु बगाउने पिता’, ‘नाम हो विष्णुराज’, ‘म शिष्य एक बाबाकी’, ‘ल रोक रोग अर्बुद’, ‘हाँसेर लौ गर बिदा’, ‘तिमी भेटिएनौ’, ‘बाबा बिना के गरूँ !’, ‘तँ होस् गोत्रै अर्कै’, ‘बाबु मेरा समान’, ११ वटा सर्गहरू छन् । यसको परिशिष्ट खण्डमा भने छन्दको सानो चिनारी र यसमा प्रयोग भएका ९ वटा छन्दको चर्चा गरिएको छ । यसमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजना पाइन्छ ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “‘निनाद वल्लरी’ मुख्यतया करुण रसमा लेखिएको काव्य हो । यसले वियोगको भाव बोकेको छ । यसका नायक एक पिता छन् । सहनायिका उनै पिताकी छोरी छिन् भने केही सहायक पात्रहरू पनि छन् । देश विदेशेको परिवेशमा यस काव्यको रचना गरिएको छ । नायकको जन्मदेखि मृत्युसम्मको सङ्क्षिप्त घटनाक्रम यस काव्यमा छ । कथानकको परिवेश अनुरूपको प्राकृतिक चित्रण र विविध बिम्बहरूको समायोजन पनि यस काव्यमा गरिएको छ । विशेष कथानक विनाका काव्यहरू पनि नेपाली साहित्यमा पाइन्छन् । उदाहरणका लागि लेखनाथ पौड्यालको ‘ऋतुविचार’लाई लिन सकिन्छ ।”

अलका आत्रेय चूडाल उल्लेख गर्छिन्, “अकस्मात् वियोगलाई कवितामा बिसाउन थालेँ । लेखनका क्रममा सँगै गुनगुनाउन पनि थालेँ । त्यससँग जानी नजानी चित्र पनि कोर्न थालेँ । छन्दमा काहिलेकाँहि केही रचना गर्थे तर गायन र चित्रकारिता मेरा लागि नितान्त फरक कुरा थिए । केही महिनासम्म यस्तो अभ्यास गर्दा मलाई धेरै हलुका र आराम भयो । यस साधनाका क्रममा मलाई आफ्नो शरीरका अङ्ग अङ्गबाट व्यथाको आगोमा उम्लेको अवसाद बाफ बनेर उडेको जस्तो अनुभव हुन्थ्यो । बलिन्द्र धारा आँसु बगाउँदै गरेको शोक काव्यको लेखन, गायन र चित्रकलात्मक साधना मेरा लागि विरेचन भयो । मैले जीवनमा पहिलो पटक कलाले मानसिक शान्ति पाउन हामीलाई कसरी सहयोग गर्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न पाएँ । कला हाम्रो दुःखमा प्रलेप रहेछ भन्ने कुरा पनि मैले बुझ्न पाएँ ।”

५० पृष्ठमा आबद्ध यस पुस्तकलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो ।