‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ यही चैत १६ र १७ गतेदेखि तेस्रो इलाम साहित्य महोत्सव २०८० सुरु हुँदैछ ।

इलामलाई कला साहित्यको मुख्य केन्द्र बनाउने उद्देश्यका साथ थालिएको यो महोत्सव तेस्रो संस्करणसम्म आइपुगेको छ । पर्यटकीय सहरलाई साहित्य मार्फत जोड्दै इलामको कला र संस्कृतिको माध्यमबाट थप सुन्दर बनाउने प्रयत्नमा लागिपरेको आयोजकको भनाइ छ ।

साहित्य महोत्सवमार्फत् इलाममा पठन संस्कृतिको विकास, लेख्न चाहने नयाँ पुस्ताहरुको लागि उत्प्रेरणा साथै इलामको रैथाने ज्ञानको प्रसार गर्नु महोत्सवको उद्देश्य रहेको छ । त्यस्तै, इलामको कृषि, अर्थतन्त्र, पर्या-पर्यटन, जैविक संरक्षणमाथि विमर्श गरी एक निष्कर्षमा पुग्ने महोत्सवको उद्देश्य रहेको छ ।

दुई दिनसम्म सन्चालन हुने महोत्सवमा नेपाल र भारतका विभिन्न ठाउँबाट करिव दुई सय कवि लेखक, कलाकर्मी, राजनीतिज्ञ, संरक्षणविद्, सिनेकर्मीको उपस्थिति रहनेछ ।

रैथाने झाँकीसहित प्रभातफेरी हुँदै गौतम बुद्ध सभागृहमा चैत १६ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईबाट महोत्सवको उद्घाटन हुनेछ ।

‘इलामको पर्यटन, अर्थतन्त्र र एकेडेमिक क्षेत्र आंशिक रुपले सही चलायामान गराउन इलाम साहित्य महोत्सवले सहयोग गर्नेछ भनेर नै हामी यस महोत्सवमा लागि परिरहेछौँ’, आयोजक इलाम नगरपालिका नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ ।