साहित्यपोस्ट

युरेका पब्लिकेसन्सले बन्दाबन्दीकै अवस्थामा पनि किताब प्रकाशनलाई निरन्तरता दिइरहेको छ । बन्दाबन्दीले विशेषगरी लेखकहरूलाई समय अनुकूल भई किताब पढ्न र लेख्न पनि सजिलो भएकोले तयार भएका किताबलाई प्रकाशन गरेको पब्लिकेसनले जनाएको छ ।

पत्रकार विनोदबाबु रिजालको `एकान्तवास´, कथाकार गायत्री अधिकारीको कथासङ्ग्रह `निर्णय´, निबन्धकार मणि अर्यालको निबन्धसङ्ग्रह `कुटी´ र पत्रकार सूर्यप्रकाश कँडेलको उपन्यास `मोसो´ बन्दाबन्दीकै अवधिमा प्रकाशन भएका किताब हुन् । किताब प्रकाशन भए पनि मुलुकको अवस्था सामान्य बनेपछि मात्रै बजारमा उपलब्ध हुनेछन् ।

कोरोना भाइरसको महामारीका कारण राजधानीसहित देशका अधिकांश स्थानमा अझैसम्म निषेधाज्ञा आह्वान गरिएको छ । निषेधाज्ञाका कारण सम्पूर्ण व्यवसाय तथा यातायात सेवा ठप्प छन् । अवस्था सामान्य बन्नेबित्तिकै यी चार वटै किताब देशैभर उपलब्ध हुने युरेका पब्लिकेसनका लेखराम सापकोटाले बताए ।

प्रकाशन भएका किताबहरूमा पत्रकार रिजालको `एकान्तवास´ लकडाउन डायरी हो । लकडाउनका बेला आफूले भोगेका सन्दर्भसहित स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रसङ्गलाई पत्रकार रिजालले पुस्तकमा समेटेका छन् । कोभिड सम्बन्धित घटनाक्रमलाई रिजालले निबन्धात्मक शैलीमा लेखेका छन् । चैत ८ देखि असार १ गतेसम्मको कडा किसिमको बन्दाबन्दी अवधिको घटनाक्रमलाई किताबमा उतारेको रिजालले बताए । २७६ पृष्ठको `एकान्तवास´ को मूल्य ३७५ छ ।

कथाकार गायत्री अधिकारीको सङ्ग्रह `निर्णय´ मा २३ कथा छन् । समसामयिक विषयमा लेखिएका उनका कतिपय कथाहरू विभिन्न पत्रपत्रिकामा पूर्व प्रकाशित हुन् । अधिकारी साठीको दशकदेखि साहित्य लेखनमा सक्रिय छन् । नेपाली विषयमा स्नातकोत्तर उनी भरतपुरस्थित नारायणी नमुना माविमा अध्यापन गर्छिन् । `निर्णय´ उनको पहिलो पुस्तक हो । कुल २०८ पृष्ठको किताबको मूल्य तीन सय पचास रुपैयाँ तोकिएको छ ।

युरेकाले प्रकाशन गरेको अर्को पुस्तक `कुटी´ हो । कुटीमा ११ वटा निबन्ध छन् । बाँके घर भई चितवनमा होटेल व्यवसाय गरेर बसेका मणि अर्यालले यो सङ्ग्रहमा समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकतालाई निबन्धका रूपमा उतारेका छन् । `कुटी´ लेखक अर्यालको पहिलो पुस्तक हो । कुल ८८ पृष्ठको कुटीको मूल्य १७५ राखिएको छ ।

पत्रकार सूर्यप्रकाश कँडेलको `मोसो´ उपन्यास पनि तयार भइसकेको छ । मोसोमा एउटा खराब पत्रकारको कथालाई बुनिएको छ । पत्रकारिताभित्रका कर्तुतलाई उपन्यासमार्फत बाहिर ल्याउन खोजिएको लेखक कँडेलले बताए । उपन्यासमा देखाइएको प्रवृत्तिले पत्रकारिता गरिरहेका र आउन चाहनेलाई सतर्क बनाउने कँडेलको ठम्याइ छ ।

दुई दशक अगाडिदेखि पत्रकारिता गरिरहेका कँडेलले पारदर्शी र चितवन पोस्ट दैनिकमा लामो समयसम्म काम गरे । अन्नपूर्ण पोस्ट दैनिकमा पनि काम गरेका उनी अहिले सफलखबर डटकम तथा नागरिक राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

करिव दुई सय पचास पृष्ठको मोसोको मूल्य ३७५ राखिएको छ ।