इलाम । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएकाे छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरवार) आइतबार इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस-प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्यता र धर्म गौतमको अध्यक्षतामा पुस्तकको लोकार्पण गरिएको हो ।
इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा लेखक केदार शर्मा, कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले कृतिमाथि चर्चा गरे ।
थाम्सुहाङ्ले कवि विमल वैद्यले ४० वर्षदेखि निरन्तर सिर्जनामा लागिरहेकाले स्थापित सर्जक भएको र उनका कृति नेपाली साहित्यको लागि गर्व गर्न लायक भएको बताउनुभयो ।
भाषाविद् तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकाले यस कृतिमा समेत अझ परिमार्जन भएको बताउनुभयो । लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत शर्माले बताउनुभयो ।
कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि वैद्यकाे कविताकृति काठमाडौँमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो । पेज टर्नरले बजारमा ल्याएको ३४ कविता सङ्ग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।
साहित्यमा शब्द, शैली र उनका स्वभावले वैद्यको चर्चा इलाममा मात्रै नभैइ देशभर र छिमेकी देश भारत दार्जिलिङ, सिक्किम, मिरिकलगायत नेपालीभाषी रहेका स्थानमा समेत छ । करिब ४० वर्षदेखि इलाममा रहेर सिर्जनामा लागिरहेका उनी देश तथा सिमा पारीका विभिन्न साहित्यिक कार्यक्रममा व्यस्त हुन्छ्न् ।
मोफसलमा बसेर ख्याति कमाइरहेका वैद्यकाे यसअघि ‘आकास छुन खोज्ने मनहरू’, ‘समय र सपनाहरू’ र “अक्षर सिम्फोनी” बजारमा आइसकेका छ्न् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।