काठमाडौं । कवि तथा निबन्धकार मोमिलाको निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ एक समारोहबिच लोकार्पित भएको छ । सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा एलबी क्षेत्री, अशेष मल्ल, डा. विमल कोइराला, प्रा.डा. सावित्री कक्षपती, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृतिकार मोमिलालगायतले निबन्धसंग्रह सार्वजनिक गरेका हुन् ।

उप्रान्त नाट्यस्वरूपमा कृतिमाथि विहङ्गम छलफल गरियो । कटघरामा खडा भएकी कृतिकार मोमिला र उनको कृतिमाथि केही अभियोग लगाइयो । कृतिकार मोमिलाले सफाइमा केही वैचारिक अभिव्यक्ति दिइन् । र, आफू वक्ररेखामा हिँड्न रुचाउने दृष्टिकोण प्रस्तुत गर्दै महिला आफैंमा एक नायक भएको बताइन् ।

साहित्यकार मोमिलाले यस कृतिका निबन्धहरूको आधार पञ्च भौतिक तत्व भएको उल्लेख गर्दै आफ्ना ललित निबन्धहरूले भरिएको सँगालो भावकहरूलाई सुम्पिएको बताइन् ।

साक्षीका रूपमा रहेकी वक्ता साहित्यकार समालोचक प्रा.डा. सावित्री कक्षपतीले मोमिलाले यस कृति मार्फत् एक किसिमको जीवन दर्शन निर्माण गरेको बताइन् । उनले कृतिभित्र आवाजविहीनहरूको आवाज समेटिएको उल्लेख गरिन् ।

अर्का साक्षी वक्ता साहित्यकार केशव सिग्देलले मोमिलाले जीवनका अनेक रङ्गहरू यस कृति मार्फत् प्रस्तुत गरेको बताउँदै मोमिला सत्यको पछाडि लाग्ने सर्जक भएको उल्लेख गरे ।

नवीन प्रयोगकासाथ प्रस्तुत कृति सार्वजनिक समारोहमा न्यायाधीशको भूमिकामा रहेका नाट्यकर्मी अशेष मल्लले यस कृतिमा रहेका मोमिलाका निबन्धहरू पूर्वीय दर्शनको जगमा उभिएको उल्लेख गरे । उनले कृतिका निबन्धहरू लालित्यपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि एलबी क्षेत्री र सहजकर्ता महेश पौड्यालले पनि मोमिलाको कृतिका बारेमा बोलेका थिए ।

कृति सार्वजनिक प्रस्तुति पनि नाट्य झैँ सो अवसरमा उपस्थित साहित्यकार तथा साहित्यका मर्मज्ञहरूले कृति सार्वजनिकीकरणको नाट्य प्रस्तुति हेरेको अनुभूति गरिरहेका थिए ।