जयराम बिडारी । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कवितासंग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा ‘सम्मिश्रण’ निबन्धसंग्रह एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
बानेश्वरस्थित रत्न राज्य स्कुलमा आयोजित उक्त कार्यक्रममा नोबेल साकोसकी अध्यक्ष सरस्वती गौतमको सभापतित्व तथा अनेकौं भाषा तथा लिपिका ज्ञाता एवं साहित्यकार अर्जुन विरक्ति स्तोत्रीयको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएकाे हाे ।
गजलकार वियोगी बुढाथोकी, साहित्यकार गोविन्द घिमिर ‘बेदमणी’, प्रा. डा. गोविन्दमान सिंह कार्की, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. कौशिला रिसाल, बुनपाका उपमेयर अनिता लामा, सशक्त कवि तथा साहित्यकार भरत बर्बरिक, पत्रकार, सामाजिक अभियन्ता एवं कानूनविद् स्वागत नेपालको आतिथ्यतालगायत सयौं साहित्यानुरागीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन गरिएको थियो ।
प्रमुख अतिथिको मन्तव्यका क्रममा अर्जुन विरक्ति ‘स्तोत्रीय’ ले आफूले भाषा साहित्य कला र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने अभियानका क्रममा खानु परेको गोताको स्मरण गर्दै र्सिजनात्मक कर्म शारीरिक मानसिक सबलताको रुपमा प्रस्तुत हुने बताए । नेपाली साहित्यको क्षेत्रमा लोकार्पित कृतिका सर्जकद्वयको भूमिका प्रशंसनीय रहेको बताउंदै कृति सफलताको शुभकामना ब्यक्त गर्दै प्राचीनतम संस्कृतिको रक्षा र जगेर्ना हुनुपर्ने कुरामा जोड दिएका छन् ।
समीक्षक शैलेन्दु प्रकाश नेपालले भीष्मका निवन्ध संग्रहमा मूलतः भाषासाहित्य ,समसामयिक विषयवस्तु , मानिस सफल बन्नु भन्दा पनि असल बन्ने क्रमका परोपकारी कर्ममा ईश्वरीय शक्तिको महत्ता,ऐतिहासिक,संस्मरणयुक्त अनुभव र अनुभूतिलाई कलात्मक रुपमा प्रस्तुत गरी रुचिकर रुपमा पस्किन सक्ने सामर्थ्य रहेको औंल्याउंदै एक समयका सहकर्मी कृतिकारका रुपमा आउनु संतोषको विषय रहेको बताएका छन् ।
सिर्जनाको आधा आकाश समीक्षाका क्रममा अर्का समीक्षक अशोक सुवेदीले अनवरत रुपमा लोकलय संकलन सिर्जना र प्रशारणका अथक साधक कवि श्यामबहादुर खड्का ‘भावुक’ लोक अभियानका एक सफल अभियन्ता रहेको उल्लेख गर्दै समय,स्रष्टा र साहित्य सिर्जनाको संयोजनका क्रममा लोकविचार र तिनका कर्म र अपकर्म लेकबेसी, हिमाल, पहाड तराईका लोकसंस्कृति, समाजका विविध विधाका पचपन्न नारी स्रष्टाका जीवन भोगाई अनि तीनका संघर्षका कथा-व्यथा लाई टपक्क टिपेर पुनः समाजका सामू स्वादिलो रुपमा प्रस्तुत गर्न सक्नु उनको विशेषता रहेको बताउंदै उनका आगामी सिर्जना यात्रा अझै प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै कृति सफलताको शुभकामना दिएका छन् ।
प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरि उद्धाटन गरिएको कार्यक्रममा राष्ट्रीय गान बजाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । सो अवसरमा प्रा.डा.गोविन्दमान सिंह कार्कीले आफ्ना धारणा सहित रचना वाचन गरेका थिए भने भावुकद्वारा आफ्ना कृतिमा समेटिएका पचपन्न सर्जक मध्य राधा कार्की ,रुबि सत्याल, भगवती पाण्डे लगायतले कविता वाचन गरेका थिए भने जम्मा त्रिसठ्ठी जना साहित्यकारले आ-आफ्ना रचना सुनाएका थिए ।
करिब छ घण्टासम्म निरन्तर रुपमा सञ्चालित रचना वाचन कार्यक्रममा आलस्य र पट्यारको कुनै सङ्केत देखिएन ।
साहित्यकार एवं संचारकर्मी राजन न्यौपानेद्वारा संचालन गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमका सभापतिको भूमिकामा रहेकी नोबेल साकोसकी अध्यक्ष सरस्वती गौतमद्वारा धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।