
साहित्यपोस्ट
महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ नामक जीर्ण घर ‘महाकवि देवकोटा सङ्ग्रहालय’ बन्ने निश्चित भएको छ । हालै प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सरकारसँग ‘महाकवि सङ्ग्रहालय’को निर्माणका लागि आवश्यक बजेटको माग गरिए पनि सरकारले ल्याएको बजेटमा कोभिड–१९ कारण बजेट विनियोजन हुन नसकेको स्मरण गएएका थिए । प्रधानमन्त्री ओलीले कुलपति उप्रेतीलाई कोभिड–१९ कारण अब सङ्ग्रहालय निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सँगै रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’ राष्ट्रिय गौरवकै परियोजना भएको हुँदा उक्त सङ्ग्रहालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले बताएका छन् ।
वि.सं. २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए । नेपाल सरकारको निर्णयानुसार कानुनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक नेपनल प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ । महाकवि देवकोटा सङ्ग्रहालय चार तलाको हुन र जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञहरूसँग परामर्श गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको कुलपति उप्रेतीले बताए ।
“भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोसिस गरिनेछ । सङ्ग्रहालयको भुइँ तलामा श्रव्यदृश्य कक्ष हुनेछ जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्नेछन् । भवनको दोस्रो तल्लामा महाकवि देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् ।” कुलपति उप्रेरतीले भने, दे”वकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, फोटो, उहाँले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् । यसैगरी सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएका साहित्यिक सिर्जनाका पाण्डुलिपि र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ भने सङ्ग्रहालयको चौथो तलामा देश विदेशका आगन्तुकहरू आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् ।”
यथाशीघ्र समय मिलाएर तयार पारिएको ‘महाकवि देवकोटा सङ्ग्रहालय’ निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रधानमन्त्रीलाई बुझाइने र सरकारबाट आवश्यक बजेटको व्यवस्था हुनासाथ दुई वर्षभित्र निर्माण कार्य पूरा गरी प्रयोगमा ल्याउने गरी सङ्ग्रहालय निर्माण कार्यलाई अगाडि बढाइने कुलपति उप्रेतीले जानकारी दिएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 




