अब ‘दी पोएट आइडल’का बारेमा केही लेख्नुपूर्व भूमिका बाँधिरहनुपर्ने आवश्यकता छैन । तपाईँलाई थाहै छ – आइडलले पहिलो संस्करण सफलताका साथ सम्पन्न गरेको एक वर्ष पूरा गरिसकेको छ भने दोस्रो संस्करणको सरगर्मीले नेपाली साहित्य क्षेत्र गरमागरम छ । जस्तो, अहिलेको मौसम छ ।
दोस्रो संस्कारण भोटिङ राउन्डमा प्रवेश गरिसकेको छ । यतिमात्र होइन, तीन जना प्रतिस्पर्धीलाई कवितासम्बन्धी यो फरक र बृहत् मञ्चले बिदा पनि गरिसकेको छु । कवितामा अब्बल रहँदारहँदै पनि भोटको गणनामा तल परेकाहरुलाई बिदाइको हात हल्लाउनु यस किसिमका प्रतियोगिताको नियति हो । के कति अवस्थामा कुरुपता हो भने सँगसँगै रोचकता र सुन्दरता पनि हो ।
तर, बुझ्नु पर्ने कुरा के छ भने – पोएट आइडलले प्रतिस्पर्धीको सम्पूर्ण जिम्मा भोटिङ मसिनलाई जिम्मा लगाएको छैन । यस कुराको छोटोमा तारिफ गर्नु अनुचित पक्कै हुँदैन ।
अँ, पोएट आइडलमा अन्तिम १४ मा छानिएका कविलाई दुई समूहमा विभाजन गरिएको छ (यो लेख लेख्दासम्म प्रतियोगीहरु ११ जनामा सीमित भइसकेका छन्) । प्रत्येक समूहमा ७–७ जना । अहिलेको चरणमा भइरहेको प्रतिस्पर्धा एक समूहमा भएका ७ जनाबिचको हो । पहिलो चरणमा, ७ जनामध्येका ५ जनालाई दर्शक–स्रोताहरुले भोटिङमार्फत् अर्को चरणका लागि सुरक्षित गराए भने बाँकी २ जना भने निर्णायकको शरणमा पुगे । वा भनौँ – आफ्नै प्रतिभा – आँसु कवि चरणको शरणमा पुगे । श्रव्य–दृश्य रुपमा दिएको विषयमा छोटो समयमा मञ्जमै रहेर कविता लेखे । एकै समूहमा रहेका सहकर्मीबिच काव्यिक लडाइँ लडे । र, उक्त कविता त्यही मञ्चमा उभिएर सुनाए । सोही आँसु कवि चरणमा लेखिएको कवितालाई एकलाई समूहमा पुन: समेल गरायो भने अर्कोलाई भव्य मञ्चले बिदाइ गर्यो । यहाँ आएर निर्णायकहरु निर्णायक बने । माथि भनिएको तारियोग्य रोचक कुरो यही नै हो ।
पोएट आइडलबाट को–को कवि बिदा भइसकेका छन्, तपाईँलाई थाहै छ । बिदा भएका कविहरुको आइडल अनुभूति क्रमश: साहित्यपोस्टमै प्रकाशन हुने क्रम पनि जारी नै छ । अब थोरै बाँकी रहेकाको कुरा गरौँ । आइडलमा अहिले विकसित क्रम–घटनाक्रमका बारेमा बात मारौँ ।
दी पोएट आइडल, संस्करण – दुई, (एपिसोड– ११)
आइडको दोस्रो संस्कारको ‘एपिसोड– ११’मा ‘समूह बी’को प्रस्तुति रहेको थियो । ७ बाट एक सहकर्मीलाई बिदा गरी ६ मा सीमित भइसकेको यो समूहको यो दोस्रो प्रस्तुति सत्र थियो । यो चरण ६ कविहरुले समान विषयमा कवितात्मक प्रतिस्पर्धा गरे । यो शृङ्खलाका लागि उनीहरुको विषय थियो – मातृत्व ।
शृङ्खला– ११ को पहिलो प्रस्तुति सेचन राई (बङछेङ) को रहेको थियो । सेचनले ‘धर्मपुत्र’ शीर्षकको कवितामार्फत् आमाको महिमा गाए । उनले बिम्ब तथा प्रतिकहरुको भरपूर प्रयोगमार्फत् दर्शक तथा स्रोताहरुलाई जन्मदिने आमाबाट कर्म दिने आमासम्मको विचारण गराए । उनको कवितामा जन्मदिन आमाबाट अन्जान एक पुत्रले कर्म दिने आमाको त्याग र तपस्यालाई काव्यमा प्रस्तुत गरे । उनको कविताले निर्णायक अनुप बराललाई आफ्नो बुबा चर्चित काटुनिस्ट वात्सायनको याद दिलायो । उनले भने, ‘धेरैलाई थाहा नहुन सक्छ, मेरो बुबा पनि धर्मपुुत्र हो ।’
दोस्रो प्रस्तुतिका रुपमा सिक्किमकी कवि सबिना राईले ‘गर्भको गर्व’ शीर्षकको कविता सुनाइन् । उनले आफ्नो कवितामा एक सन्तानको जीवनमा आमाको महत्त्व तथा छोरा–छोरीबिचको विभेद र त्यसलाई आमाको जीवनमा पार्ने प्रभावलाई कवितामार्फत् दर्शाइन् । उनले बिहानलाई आमाको खुसी र साँझलाई आमाको दु:खका रुपमा बिम्बात्मक रुपमा प्रस्तुत गरिन् । कविताको बिच–बिचमा आमा छोरीको संवेदनात्मक सम्बन्धलाई नाटकीय प्रस्तुतिबाट प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको थियो ।
सबिनाको कवितामा प्रतिक्रिया जनाउने क्रममा आमन्त्रित निर्णायक गायिका इन्दिरा जोशीले आफूहरु ६ दिदीबहिनीपछि भाइ जन्मिएको स्मरण गरिन् । उनले भनिन्, ‘म टिपिकल ब्रामिन् परिवारको छोरी । मेरो बुबाआमालाई यति धेरै प्रेसर थिए एक छोरा सन्तानका लागि, अनि त्यतिबेला एकदम कम्प्लेन गर्थेँ म पनि । तर अहिले जब म मेच्युर भएँ, समाज हुन त अहिले धेरै परिवर्तन भइसक्यो – तर त्यो ब्रेक गर्नलाई धेरै गाह्रो थियो त्योबेला उहाँहरुलाई । तर उहाँहरुले के राम्रो काम गर्नुभयो भने, उहाँहरुले हामी सबैलाई राम्रो गरी पढाउनुभयो । अहिले हामी सातै जनाले आफ्नो फिल्डमा राम्रो गरिरहेका छौँ ।’
इलामका कवि विजय लुइटेलले तेस्रो प्रस्तुतिका रुपमा मातृत्वलाई जीवनको गणित सिकाउने पहिलो शिक्षकका रुपमा प्रस्तुत गरे । बालमनोविज्ञानमा लेखिएको ‘आमा गणित’ शीर्षकको कवितामार्फत् उनले एक आमाले सन्तानलाई दिने श्रृष्टि र दृष्टिलाई सुन्द ढङ्गले प्रस्तुत गरे । निर्णायक उपेन्द्र सुब्बाले विजयको कवितामा परिपक्कताका साथमा कलात्मकता पनि निखारिएर आएको बताए । उनले भने, ‘मलाई लाग्छ, विजय भाइ टप चारमा हुनेछ । कहीकथङ खोटै भएछ भने पनि चित्त नदुखाइ जानु, झण्डा गाडेर जान्छौ पोएट आइडलमा । साँच्चै भनेको, यो कविता मलाई आजसम्मकै मन पर्यो ।’
कोहुलपुर, बाँकेकी कवि अनु शाहीले स्टेजमा मातृत्वलाई फरक तरिकाले प्रस्तुुत गरिन् । मातृत्व महिलामा मात्र नभएर पुरुष, लैङ्गिक अल्पसंख्यक तथा जनवारमा समेत हुने तर्कका साथ उनी कविता प्रस्तुतिका लागि मञ्जमा उभिइन् । उनले आमा बन्न नसक्ने ‘ट्रान्स–महिला’को मातृत्व–अनुभूतिलाई आफ्नो कवितामार्फत् सिँगारिन् – भावनाको पाठेघर शीर्षकको कवितमार्फत् । अनुको कवितामा प्रतिक्रिया दिँदै निर्णायक कवि विप्लव प्रतीकले भने, ‘कविता लेख्ने जुन तिम्रो कल्पनाशीलता छ, शीर्षक राख्ने चुनौतिलाई जसरी न्याय गर्यौ त्यहीबाट थाहा हुन्छ कवितामा के आउँदैछ भनेर । भावनाको पाठेघरका लागि धेरै धेरै शुभकामना ।’
अनुको प्रस्तुतिपश्चात् ‘समूह– बी’को बाँकी रहेका दुई कविहरुको प्रस्तुति ‘एपिसोड– ११’मा रहने उद्घोषक दिव्यदेवले घोषणा गरे । उनले भने, ‘भोलिको एपिसोडमा बाँकी दुई कविको प्रस्तुतिसहित ‘समूह ए’का कविहरुको ‘भोट आउट एपिसोट’ समेत रहेको छ ।’
दी पोएट आइडल, संस्करण – दुई, (एपिसोड– १२)
एपिसोड – १२ को सुरुवातमा मञ्चमा निर्णायक अनुप बराल र गायिका इन्दिरा जोशी देखिए । उनीहरुले मञ्चलाई साझा गर्दा बरालले काव्यिक वाक्य गुनगुनाए भने इन्दिराले सोही शब्दहरुलाई सुमधुर आवाज दिइन् । र, सुरु भयो ‘समूह बी’का बाँकी दुई प्रतिस्पर्धी कविको प्रस्तुति ।
‘एपिसोड – १२’को पहिलो प्रस्तुति लिएर आइन् इलामकी कवि विपना अधिकारी । उनले आफ्नो कवितामा मातृत्वलाई प्रकृतिका रुपमा चित्रण गरिन् – ‘अजम्मरी फूल’ शीर्षकमा । उनले कवितामा आमा, काख, कोख र प्रकृतिलाई सुन्दर बिम्बहरुमा बुनिन् । सिमल भुवाजस्तो उडिहिँड्ने एकदमै कोमल कविताका लागि अनुप बरालले विपनाको तारिफ गरे भने उपेन्द्र सुब्बाले कविताका लागि बधाई र शुभकामना एकैपटक दिए । सुब्बाले विपनाको आवाजको समेत तारिफ गरेका थिए ।
‘समूह बी’को यो चरणको अन्तिम कविका रुपमा मञ्चमा उक्लिए कालेबुङका कवि विशाल नाल्बो । नाल्बोले ‘आमा’ शीर्षकको कवितामा आमाको त्याग र धीरताले मात्र सन्तानको सपना पूरा हुने भाव प्रस्तुत गरे । विशालको कविताको तारिफ गर्दै कवि विप्लव प्रतीकले भने, ‘तिमीलाई सधैँ बेस्ट विसेस छ । एउटा कुरा याद राख्नु – कविहरु कहिल्यै निकम्मा हुँदैनन् ।’
प्रतीककै शब्द समाउँदै गायिका जोशीले आमाको कथा सधैँ आफ्नै जस्तो हुने बताइन् । उनले कविता एकदमै राम्रो लेखेको भन्दै नाल्बोको तारिफ पनि गरिन् ।
र, सकियो ‘समूह बी’का ६ कविहरुको प्रस्तुति । कवि विप्लव प्रतीकले लाइन अफ द विक पढे – हरेक विहान गाईगोठाबाट हेर्छ, गाईको बाछाले आमाको बाटो…’ । जुन लाइन कवि विशाल नाल्बोको कविताबाट थियो, जो ‘लाइन अफ द विक’को विजेता बने ।
र, कार्यक्रम प्रवेश गर्यो ‘समूह ए’का ६ कविहरुमध्येबाट एकलाई बिदा गर्दै ५ मा सीमित गराउने कार्यविधितर्फ – भोट आउट एपिसोड । र, समय आयो कविहरुका लागि सबैभन्दा गाह्रो चरण ‘आँसुकवि’ चरणतर्फ ।
अघिल्लो साता प्रस्तुति दिएर दर्शक–स्रोतामाझ भोटका लागि आव्हान गरे ६ कविहरुमध्येबाट ४ जना भोटिङकै माध्यमबाट अघिल्लो चरणका लागि सुरक्षित भए भने २ जना मञ्जमै कविता लेखी सुनाए तयार बने । अघिल्लो चरणका लागि सुरक्षित हुने कविहरु थिए – ऋषिबहादुर राई, डा. मुस्कान पोखरेल, मोहित जोशी, सिम्योन राई । बटम टुमा परी आँसुकवि चरणमा परे गोर्खे चाली र सरला क्षेत्री ।
सरला क्षेत्री र गोर्खे चार्लीले ‘तीतोपन’ विषयमा रहेर ‘आँसुकवि चरण’अन्तर्गत ३० मिनेटमा कविता सिर्जना गरे । सुनाए । निर्णायकहरुको मूल्यांकनले चार्लीलाई अघिल्लोे चरणका लागि सुरक्षित गर्यो भने सरलाको पोएट आइडलको यात्राले बिट मार्यो ।
सात जनाको समूहबाट यात्रामा निस्किएको ‘समूह ए’ पाँच जनामा सीमित भइसकेको छ भने ‘समूह बी’ले आउने सात एक जनालाई बिदा गर्दै ५ जनालाई समूहमा सुरक्षित गर्ने छ । र, पोएट आइडल सिजना दुईले अन्तिम १० प्रतिस्पर्धी पाउने छ ।
तपाईँलाई मन परेका कविहरुलाई भोटिङ तथा प्रेमद्वारा अघि बढाउँदै जानुहोला है त !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।