साहित्यपोस्ट

एनआरएनएले अनलाइन साहित्य शृङ्खलाको पन्ध्रौं संस्करण सम्पन्न गरेको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिको अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह”को पन्ध्रौं शृङ्खला वरिष्ठ कवि एवम् गीतकार श्रवण मुकारुङको विशेष उपस्थितिमा सम्पन्न गरेको हो ।

“अबका कविताहरूले कथाको शैलीमा समाजका घटनाक्रम र जनजीवनलाई रोचक शैलीबाट कथाहरू जस्तै भनिरहेका हुन्छन् । समाजको परिवर्तन र सुधारका लागि चेतना भरिरहेका हुन्छन् ।” कवि श्रवण मुकारुङले भने, “म आफू पनि त्यही शैलीबाट कविता लेखिरहेको हुन्छु । साहित्यले समाज र देशको परिवर्तन र विकाशलाई राजनीतिले दिए झैँ महत्वपूर्ण योगदान दिइरहेको हुन्छ ।” उनले प्रवासी कवि लेखकहरूलाई प्रवासकै भुगोल, समाज र जनजीवन बोकेका रचना लेख्न विशेष अनुरोध गरे । जसले नेपाली साहित्य अझै फराकिलो र पठनीय बन्ने उनको मत थियो ।

मुकारूङले “बिसे नगर्चिको बयान” लगायत अन्य रचनाहरु कार्यक्रममा वाचन गरेका थिए ।

कार्यक्रममा प्रवासका कवि लेखकहरू उपस्थिति रहेको थियो । कुबेतबाट अमित चामलिङ राई , पोर्चुगलबाट बिनोद स्पन्दन , क्यानडाबाट सुरेन उप्रेती र जापानका रबिन शर्माले आआफ्ना रचनाहरु वाचन गरेका थिए ।

त्यसैगरी भर्खरै एनआरएनए एसिया प्रशान्त क्षेत्र युवा समितिले आयोजना गरेको विश्वव्यापी वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी म्यान्मारकी अभिलाषा खतिवडालाई सम्मानसमेत गरिएको थियो । उनले १९ वर्ष मुनिका २९ देशका ६१ जना गैरआवासिय नेपाली बालबालिका बीच भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याएकी थिइन् ।

विशाल विस्टले अमेरिकाबाट र भगवती बस्नेतले नेपालबाट संयुक्त रूपमा संचालन गरेको कार्यक्रमको सुरूमा राष्ट्रकवि माधव घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

पूरा कार्यक्रम सुन्न यो लिन्कमा जान सक्नु हुन्छः

https://m.facebook.com/story.php?story_fbid=10218214015330862&id=1504087590