कवि तथा गीतकार उर्मिला कोइरालाको कवितासङ्ग्र ‘घाममाथि घामकै किरण’ प्रकाशनमा आउने भएको छ । साहित्यपोस्ट (इ) दैनिकको माउ संस्था शब्द मिडिया प्रालि.ले कोइरालाको उक्त कृति प्रकाशनमा ल्याउनेभएको हो ।
कोइराला विशेषतः काव्य विधाअन्तर्गत कविता र गीतमा कलम चलाउँछिन् । गीतिसङ्ग्रह ‘दिलको गजुर’ प्रकाशनमा ल्याइसकेकी कोइरालाको ‘घाममाथि घामकै किरण’ पहिलो कवितासङ्ग्रह हो ।
यस सङ्ग्रहमा महिलाका अन्तरकथा, समसामयिकता तथा समयको विसङ्गतिबोधलाई समेटिएको कवि कोइराला बताउँछिन् । “विषयवस्तुगत विविधता नै यसको विशेषता पनि हो ।”, भन्छिन्, “तीमध्ये पनि महिलाकाअन्तर कथा, जीवन दर्शन, समसामयिकता र समयको विसङ्गतिबोध यसको प्रमुख विशेषता बन्न पुगेको छ जस्तो लाग्छ । जीवनलाई माया गरौँ भन्ने काव्यिक चेतलाई उठाउन र जीवन्त पार्न खोजेको छु ।”
कवि कोइरालाका अनुसार, साहित्यपोस्ट (इ) दैनिक साहित्यको पत्रिका मात्र नभई एक अभियान भएकाले केही सिक्ने अपेक्षासहित पुस्तक प्रकाशनमा उनले सहकार्य गरेकी हुन् । “साहित्य पोस्ट साहित्यको मूल प्रवाह हुँदै आएको छ । यसैमा मिसिन खोजेकी हुँ । अलिकति लोभ यथेष्ट प्रचारप्रसारको तथा सहज र सर्वसुलभ वितरणका कारण प्रकाशनका लागि साहित्यपोस्ट नै छानेको हुँ । साहित्यपोस्ट साहित्य बिटमा पत्रकारिता मात्रै गर्दैन, साहित्यको विकास र स्तरीकरणमा दत्तचित्त पनि छ ।”
कोइरालाको पुस्तक साहित्यपोस्टबाट प्रकाशनमा आउने कुरालाई प्रधानसम्पादक अश्विनी कोइरालाले समेत पुष्टि गरेका छन् । भन्छन्, ‘उर्मिलाजीको कविता तथा गीतले गहिरा अनुभूति तथा मुद्दाहरूलाई सरल तथा काव्यिक तवरमा प्रस्तुत गरेका हुन्छन् । कृति प्रकाशनमा लागि हामीलाई विश्वास गर्नुभएकामा उहाँप्रति कृतज्ञ छौँ । सङ्ग्रहित कविका रूपमा नवीन प्रयोगको साथ उहाँको उपस्थिति हस्तक्षेपकारी रहने कुरामा आशावादीसमेत छौँ ।’
कोइरालाको पुस्तक चैत अन्तिम साताबाट बजारमा उपलब्ध हुने प्रकाशन संस्था शब्द मिडिया प्रा.लि.ले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।