नवराज रिजालको सम्पादकत्वमा प्रकाशित नवप्रज्ञापन साहित्यिक पत्रिकाले नेपाल बाहिरका नेपाली कविता विशेषाङ्क प्रकाशित गरेको छ। यस पत्रिकाको १०३ अंकलाई (माघ-चैत २०८०) विशेषाङ्कको रूपमा प्रकाशित गरेको हो।

यस अंकका अतिथि सम्पादक साहित्यकार तथा अंग्रेजी साहित्यपोस्टका सम्पादक सल्लाहकार शरद प्रधान हुनुहुन्छ । यस विशेषाङ्कमा भारतीय नेपाली साहित्यका ४४ जना कविहरूको कविता समावेश गरिएको छ। सन् चालीसको दशकदेखि कविता लेख्ने वीरेन्द्र सुब्बा, दान खालिङ, सानुमति राईदेखि अगमसिंह गिरी, मोहन ठकुरी, मनप्रसाद सुब्बा र नयाँ पुस्ताको कवि योगिता राई, पवित्र लामा, राजा पुनियानीका प्रतिनिधि कविताहरू समावेश गरिएको छ।

यस अंकका अतिथि सम्पादक शरद प्रधान आफ्नो सम्पादकीयमा लेख्छन्- सन् पचासको दशक भारतीय नेपाली कविताको निम्ति उर्वर समय रह्यो । वीरेन्द्र, धुर्व, ओकयामा ग्वाईन, सानुमति राई, अगमसिंह गिरी, नरेन्द्र कुमाई, अगमसिंह तामाङ, तुलसी अपतनको उदय यही कालखण्डमा भएको हो । सन् साठीको दशक तेस्रो आयामको युग थियो । नेपालबाट गएका बैरागी काँइला र इश्वर बल्लभ तथा दार्जिलिङका इन्द्रबहादुर राईको सयुक्त प्रयासमा शुरू भएको सो साहित्यक आन्दोलनको मुखपत्र तेस्रो आयाममा प्रकाशित अगमसिंह गिरीको कविता चिहान यहाँ बोलिरेछलाई तेस्रो आयामको प्रतिनिधि कविताको रूपमा प्रस्तुत गरेका छु ।

यही दशकमा उदय भएका कविहरू प्रेम शेर्पा विरोकी, गुमानसिंह चामलिङ, हरिभक्त कटुवाल, भीम थापालाई पनि स्थान दिन मन लाग्यो । सत्तरीको दशकमा आइपुग्दा तेस्रा आयाम केही मथ्थर भयो तर यसको प्रभाव नयाँ पुस्ताका कविहरूमा देखा पर्नु स्वभाविक थियो । यो युगलाई हाँक्ने अग्रेणी कविहरू मोहन ठकुरी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, नोर्देन रुम्बा, किताबसिंह राई, जीवन थिङ, नोरज्याङ स्याङदेन हुन् । उनीहरूले भारतीय नेपाली कवितालाई भिन्न रूपमा प्रस्तुत गरेर एउटा अलग चिनारी दिए । उनीहरूका कविता प्रयोगात्मक त थिए नै, सँगै युगिन चेतना बोकेका नवितम शैलीका समेत थिए ।

नेपाली कवितामा विषयवस्तु र शैलीमा निक्कै फरक पाउन सकिन्छ । सन् असीको दशकदेखि अहिलेसम्म भारतीय नेपाली कविताले ठुलै फड्को मारेको देख्न सकिन्छ । त्यहाँबाट प्रत्येक वर्ष सयौको सङ्ख्यामा कविता सङ्ग्रहहरू प्रकाशित हुँदै जानुले यो कुराको पुष्टि गर्छ । तर गुणान्तमकता कति छ यसको भने छुट्टै चर्चा गर्नु आवश्यक छ । यस कालमा नारी हस्ताक्षरहरू पनि प्रशस्तै देखिएका छन् । वर्तमानमा लेखिरहेका केही नारी कविहरूमा मैले राम्रो कविता लेखनको प्रवल संभावना देखेको छु । नवप्रज्ञापनको यस १०३ औं अङ्कमा सकेसम्म प्रतिनिधि नेपाली कविताहरूले स्थान पाउन् भन्ने मेरो अभिष्ट हो । यस अङ्कमा भारतमा जन्मेर भारतलाई नै कर्म थलो बनाएका कविहरूलाई मात्र समावेश गरिएको छ । वर्तमान भारतीय नेपाली कवितामा पहिचान र किनाराकृतको आवाज पनि बुलन्द बन्दै गएको पाइन्छ । यस अङ्कमा केही नयाँ र केही पुराना पुस्ताका नौला तथा प्रयोगात्मक कविताहरूलाई स्थान दिइएको छ ।’