
साहित्यपोस्ट
गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिको आयोजनामा “प्रवासी प्रवाह” को चौधौ शृङ्खला समापन भएको छ । अनलाइनमार्फत् गरिएको उक्त कार्यक्रम “विश्व साहित्यमा नेपाली साहित्य कहाँ ?” विषयक विमर्शका साथ समापन भएको हो ।
विश्व साहित्यमा अहिलेसम्म अङ्ग्रेजी भाषामा लेखिएको साहित्यलाई मात्र स्थान दिने गरिएकोले नेपाली साहित्य अझै त्यहाँसम्म पुगि नसकेको भन्दै प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली राम्रा साहित्यिक कृतिहरू अङ्ग्रेजीलगायत अन्य प्रमुख भाषाहरूमा अनुबाद गरी प्रकाशन गरिनुपर्ने बताए । “प्रज्ञा प्रतिष्ठान लगायत विद्वानहरूले आ-आफ्नो क्षेत्रमा काम गर्न सुरू गरेको भए पनि अझै धेरै गर्न बाँकी रहेको छ”, भट्टराईले अगाडि बताए, “प्रवासमा रहेका नेपाली लेखकहरूले पनि आआफ्नो ठाउँबाट यसमा योगदान गरिरहेकाले अब नेपाली साहित्यलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोग पुग्नेछ ।”
कार्यक्रममा बेलायतका नेपाली लेखक मुकुल दाहालले विश्व साहित्यको स्तरमा पुग्न राम्रा साहित्य लेखनका अतिरिक्त विश्वमा नेपालको राजनैतिक र आर्थिक पहुँचले पनि मुख्य भूमिका खेल्ने बताए । त्यसैगरी भारतका चर्चित नेपाली कवि राजा पुनियानीले नेपाली साहित्यमा विशेषत कविता विधाका विश्व साहित्यमा आउन सक्षम कृति र लेखक रहेको तर तिनको अङ्ग्रेजीलगायतका अन्य भाषामा अनुवाद गरी विश्वका पाठकसम्म पुर्याउनु पर्ने आवश्यकता टट्कारो रहेको छ बताए ।
कार्यक्रममा अमेरिकाका नेपाली लेखक कृष्ण कुसुमले त्यहाँ भइरहेका नेपाली साहित्यका गतिविधि र प्रकाशनका कार्यहरूको जानकारी गराउनु गराएका थिए भने फ्रान्समा रहेर नेपाली पुस्तक लेखन र पत्रकारिता गरिरहेकी ददि सापकोटाले प्रवासका नेपाली लेखकहरूलाई नेपालबाटै राम्रो दृष्टिकोणले हेर्ने नगरिएको बताए । सापकोटाले थपे, “यसका अलावा पनि प्रवासमा नेपाली लेखक पत्रकारहरूले नेपाली भाषा, साहित्य र संस्कृति प्रवर्द्धन गर्न उल्लेख्य कार्य गरिरहेका छन् ।”
राजा पुनियानी, मुकुल दाहाल र कृष्ण कुसुमले कविता र गजल समेत वाचन गरेको कार्यक्रमलाई भगवती बस्नेत र युएईबाट कवि निमेष गिरीले सयुक्त रूपमा संचालन गरेका थिए ।
उक्त कार्यक्रमलाई यहाँहरूले तलको लिन्कमा गएर हेर्न सक्नुहुनेछ:
https://m.facebook.com/story.php?story_fbid=161934705499901&id=100050501176280



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










