मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशले स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । ‘संघीयताको सुदृढीकरणमा मुख्य न्यायाधिवक्ताको भूमिका’ विषयक निबन्ध प्रतियोगिताका लागि कार्यालयले निबन्ध माग गरेको छ ।
चैत ५ गतेभित्र प्राप्त निबन्धको मूल्यांकन गरी चैत ९ गते उत्कृष्टको सूची प्रकाशन गर्ने कार्यतालिका छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई आगामी चैत १२ गते हुने स्थापना दिवसको औपचारिक कार्यक्रमका बीच पुरस्कृत गर्ने कार्यालयले जनाएको छ । कार्यालयले तोकेको इमेल ठेगानामा २५०० शब्दमा नबढाई लेखिएको निबन्ध पठाउनु पर्ने र उक्त निबन्धमध्ये उत्कृष्ट ५ निबन्धकारलाई स्थापना दिवसका दिन प्रमाणपत्रसहित पुरस्कृत गरिने कार्यालयका सूचना अधिकृत तथा सहायक न्यायाधिवक्ता ठाकुरराम भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वना २ जनालाई नगद चार चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यालयका उपन्यायाधिवक्ता उदयचन्द्र अधिकारीले बताए ।
उक्त खुला प्रतियोगितामा कानुनविद्, प्राध्यापक, कानुन व्यवसायी, सरकारी वकिल, शिक्षक, विद्यार्थीलगायत व्यक्तिहरू सहभागी हुने र कार्यालयको भूमिका सम्बन्धमा रचनात्मक सुझावसमेत प्राप्त हुने अपेक्षा गरिएको बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता माननीय ज्ञानेन्द्र नेपालको भनाइ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।