भक्तपुर । सिर्जना अभियान समाजको आयोजनामा भएको एक कार्यक्रममा स्रष्टाहरु नियात्राकार शरद निरोला र कवि ध्रुव जोशीले आफ्ना सिर्जना वाचन तथा लेखन अनुभूतिका बारेमा पाठकहरुसित संवाद गरेका छन् ।

सिर्जना र संवाद अन्तर्गत भएको सो कार्यक्रममा कवि एवं नियात्राकार निरोलाले एक समय जासुसी उपन्यास लेखे पनि हाल कविता र नियात्रामा कलम चलाएर आफ्ना अनुभूति र भोगाइलाई प्रस्तुत गरिरहेको बताए ।

कवि जोशीले जीवनको उत्तरार्द्धमा आएर कविता लेखे पनि सानैदेखि नै साहित्यमा पनि रुचि रहेको बताउँदै लेखनमा लाग्दा नौलो अनुभूति भइरहेको उल्लेख गरे ।

कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीले स्रष्टाद्धयको परिचय गराउँदै लेखक र पाठक बीच सिर्जनालाई लिएर गरिने संवादले दुवैलाई फाइदा पुग्ने बताए ।

कार्यक्रमको दोश्रो चरण कृतिचर्चामा कवि जोशीको अनुभूतिमा महक कवितासंग्रहमाथि समीक्षक ईश्वर बुढाथोकी र नियात्राकार निरोलाको  एटलान्टिकदेखि प्रशान्त महासागरससम्म नियात्राकृतिमाथि लेखक उत्तम मल्लले समीक्षात्मक टिप्पणी गरेका थिए । ती कृति र लेखकीय अनुभूतिमाथि डा. हिमलाल श्रेष्ठ, सुवासचन्द्र पौडेल, मञ्जु हाडा निरौला, मुरारी सिग्देल र राजेशमान केसीले विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा स्रष्टाहरु माथवरसिंह बस्नेत, किशोर पहाडी, हरिगोविन्द भोमी, तिलक प्रकाश, तारा बराल, सुनीता निरौला, माणिकबाबु ग्वंग, सुधा शर्मा, शमशेर बहादुर न्हुच्छेप्रधान, नवीना श्रेष्ठ लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति थियो ।