‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक – घनश्याम राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’, समीर पाख्रिनको ‘अनुत्तरित प्रश्न’, गीताश्री शर्माको ‘तिलस्मी’, भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’, राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि !’ ।

‍‍‍====

१. सम्झनामा मेरा पुर्खा – घनश्याम राजकर्णिकार

नेपाली साहित्यका वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारकृत नवीनतम संस्मरणात्मक कृति हो – “सम्झनामा मेरा पुर्खा” ।

सात अध्यायमा विभाजित यस पुसतकमा परिशिष्ट समेत समावेश छ ।  अध्याय एक ‘जिजुबाजे गजराज राजकर्णिकार हाम्रा आदर्श पुर्खा’, अध्याय दुई ‘मेरा हजुरबा हिरामान सिंह राजकर्णिकार श्री ३ वीरशमशेरका अभिन्न मित्र’, अध्याय तीन ‘मल्ल राजकी चेली – मेरी हजुरआमा लक्ष्मीकुमारी राजकर्णिकार’, अध्याय चार ‘नेपालमा आराम गरिरहेका पहिलो बुद्ध-प्रतिमाका निर्माता कृष्णबहादुर राजकर्णिकार’, अध्याय पाँच ‘मेरो मुटुमा छाइरहेकी मावली बज्यै मानकुमारी ताम्रकार’, अध्याय छ ‘नेपालमा पाउरोटी उद्योगका अग्रणी पिताजी कृष्णबहादुर राजकर्णिकार’, अध्याय सात ‘दयाकी खानी मेरी आमा प्राणमाया राजकर्णिकार’, परिशिष्ट ‘मेरा प्रेरणाप्रद छ पुस्ते पुर्खाहरू’ रहेका छन् ।

मेरो भन्नुमा लेखक उल्लेख गर्छन्, “यो जीवन जगत्मा हाम्रो प्रादुर्भाव आफ्ना पुर्खाको कारण अर्थात् उहाँहरूको बीजबाट हुने कुरा निर्विवाद सत्य हो । त्यसैले हामीमा आफ्ना पुर्खाको छवि कुनै न कुनै रूपमा विद्यमान भइरहेकै हुन्छ र यो स्वाभाविक पनि हो । अर्थात् पुर्खाको अर्को नयाँ संस्करण भन्नु नै हामी स्वयं हौं । यसरी हरदम हरबखत कुनै न कुनै रूपमा हामीले आफ्नो पुर्खाको वृक्षलाई बोकिरहेका हुन्छौं । र, यस वृक्षलाई शोभायमान बनाउन वा नबनाउनमा हाम्रो आफ्नै विवेक, बुद्धि, कर्मले प्रमुख भूमिका खेलिरहेको हुन्छ ।”

मन्तव्यमा प्रा.डा. कृष्णप्रसाद दाहाल लेख्छन्, “मेरा प्रेरणाप्रद छ पुस्ते पुर्खाहरू शीर्षक दिएर लेखक घनश्याम राजकर्णिकारले आफ्ना पुर्खाको अतीतको गर्भमा लुकिरहेको तथ्यलाई खोजखाज एवम् अध्ययन र विश्लेषण गरेका छन् । लेखक राजकर्णिकारका छ पुस्ते जिजुबाजे रत्नेश्वर र उनका भाइ जीवनरसिंहले पाटनको हौगबहालस्थित कुलघर (आगं छें) लाई जीर्णोद्धार र पुनर्निर्माण गरेको यथार्थलाई पनि यहाँ उल्लेख गरिएको छ । कुलघरका सम्बन्धमा ने.सं. ९२५ को शिलापत्रमा के लेखिएको छ ? त्यसका सम्बन्धमा सविस्तार चर्चा गरिएको छ । लेखकले यसका साथै १०-११ वर्षपछि उनै जिजुबाजे रत्नेश्वर, उनका भाइ जीवनरसिंह र भाइबुहारी धनमयजु मिली उक्त कुलघरको दोस्रो तल्लाको अगाडिपट्टि तीनओटा ससाना सुनका झ्याल र ढोका लगाएको तथ्य पनि सप्रमाण प्रस्तुत गरेका छन् । लेखक राजकर्णिकारले आफ्ना छ पुस्ते जिजुबाजेले गरेको धर्म-कर्मलाई आफूले उजिल्याउन पाउँदा गौरवान्वित भएको कुरा पनि व्यक्त गरेका छन् ।”

पेज टर्नरद्वारा प्रकाशित १ सय १५ पृष्ठमा आधारित यसको मूल्य २ सय रुपियाँ रहेको छ ।

====

२. अनुत्तरित प्रश्न – समीर पाख्रिन

नाटककार तथा कथाकार समीर पाख्रिन नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ । उहाँको कथासंग्रह हो – “अनुत्तरित प्रश्न” ।

१ सय १९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘दोधार’, ‘मेरो जन्मघर’, ‘अनुत्तरित प्रश्न’, ‘हाँस्दा हाँस्दै’, ‘बदर मत’, ‘मिलापत्र’, ‘अन्तर्वार्ता’, ‘झण्डै अनर्थ भएको’, ‘नयाँ युगको संकेत’, ‘दुवै हातमा लड्डु’, ‘आजको श्रवण कुमार’, ‘एटिएम कार्ड’ आदि १२ कथा संग्रहित छन् । लेखकको सरल र आकर्षित भाषाशैली तथा फरक कथाहरूले पुस्तक पठनीय बनेको छ ।

मेरा दुई कुरामा लेखक उल्लेख गर्छन्, “कथा विधाका संरचनात्मक पाटाहरू के-के हुन् ? कथा किन लेख्ने र कसरी लेख्ने ? भन्ने आधारभूत ज्ञान सिप समेत नभएको बेला कथा लेख्न सुरु गरियो । त्यसपछिका दिनहरूमा मेरो कलम एकाङ्की सँगसँगै कथा विधामा पनि सक्रिय रह्यो । लेख्दै गइयो, प्रकाशित हुँदै गयो । झन् झन् उत्साहित भएँ । कहिले व्याप्त विकृति, विसंगति र बेथितिका घटनाहरूले कथा लेख्न घचघचायो । कहिले लैङ्गिक हिंसाका घटनाहरूले कथा लेख्न विवश गरायो । आफू बसेको समाज, परिवेशमा जे जे देखेँ र जीवन बिताउने क्रममा जहाँ जहाँ पुग जुन जुन घटनाले मन उथुलपुथुल पायो, हँसायो, रुवायो र आन्दोलित बनायो त्यही घटना, परिघटनाहरू मेरा कथाका विषय बन्दै गए । अस्सीको दशकसम्म आइपुग्दा तीन दर्जन जति कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका रहेछन् ।”

“समीर पाख्रिन मूलतः नाटक विधाबाट नेपाली साहित्यमा चिनिएका स्रष्टा हुन् । नाटकको अलावा कथा, लघुकथा, मुक्तक, कविताजस्ता साहित्यका अन्य विधामा पनि उत्तिकै सशक्त छ उनको कलम । सबै विधामा सफल छन् उनी । सरल र मिजासिलो स्वभावका पाख्रिनको व्यक्तित्व उनका साहित्यमा पनि सर्लक्क उत्रिएको हुन्छ ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा मन्दिरा मधुश्री लेख्छन्, “समीरको कथा लेखनको धरातल हाम्रै परिवेशमा अडिएको छ । हाम्रै घर-परिवार, समाज, देशका घटना परिघटनाको सूक्ष्म अध्ययन, चिन्तन र विश्लेषण गरेका हुन्छन् आफ्ना सृजनामा । समीरका कथा पढ्दा आफ्नै कथा पढेजस्तो लाग्छन् । आफैँले वरपर देखेका घटना वा पात्रजस्तै लाग्छन् । पाठक उनका पात्र र घटनासँगै साधारणीकृत हुन्छन् । यो नै सफल साहित्यकारको विशेषता हो । आफूले कलम चलाएका सबै विधामा उनी सफल छन् । समीर पाख्रिनलाई नयाँ कथा कृतिको अगणित शुभकामना ।”

पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

====

३. तिलस्मी – गीताश्री शर्मा

कवि तथा कथाकार गीताश्री शर्माकृत रम्बास कवितासंग्रह हो – “तिलस्मी” ।

यसमा ‘अचानो’, ‘औँला’, ‘उन्मुक्त’, ‘चोर’, ‘चिन्तन’, ‘झाँकी’, ‘तिहार’, ‘धर्ती’, ‘निर्वाचन’, ‘फलैँचा’, ‘मुहान’, ‘रङ्ग’, ‘बरपीपल’, ‘शोक’, ‘हस्तरेखा’ र ‘ज्ञान’ लगायत १०८ रम्बास कविता संग्रहित छन् ।

देवीचरण सेडाईं लेख्छन्, “असमबाट आरम्भ भएको रम्बास कविताको स्रोत सिक्किममा पुगेर एउटा नदी हुन पुगेको कुरा श्रीमती गीताश्री शर्माको रम्बास कवितासङ्कलनले पुष्टि गरेको छ। उनको लेखाइमा प्रत्येक नियमलाई पालन गरेर अघि बढ्न सक्षम हुन पुगेको देख्दा उलाई धन्यवाद नदिइरहन सकिनँ । उनाइस् हरफभित्र एक सय अक्षरलाई समेटेर प्रत्येक हरफ स्वतन्त्र रूपमा प्रस्तुत गर्न सक्नु लरतरो त छैन त्यसमा पनि विभिन्न विषय र भावलाई अँगालेर अघि बढ्नु अझ जटिल विषय हो, मान्नुपर्छ ।”

शुभकामनामा राजा पुनियानी लेख्छन्, “पुस्तकमा भएका कविताहरूको विषयको केन्द्र समाज रहेछ । यसखाले कविता सृजना गर्दा आकृति सचेत हुनु परेको हुन्छ कवि । यो आकृति फोकसमा रचना गर्दा गीताश्री आफू बाँच्ने समाजबाट भागेकी छैनन् । सराहनीय पाटो हो यो । समाजका विसङ्गतिहरू चित्रात्मक कवितामा पाठकले पढ्न पाउँदा छुट्टै अनुभूति गर्ने नै छैनन् । सिक्किमे साहित्यमा नयाँ काव्योपहार दिनुहुने कविमा हार्दिक शुभकामना प्रकट गरें ।”

“कवि गीताश्रीको रहस्यवाद दार्शनिकको जस्तो फेला पार्ने खालको पनि छैन र योगीको जस्तो आफू मात्र स्वानन्दमा समाधीमग्न हुने खालको पनि छैन । रहस्य त अनुभूतिगम्य हुनुपर्छ । त्यो अनुभूति गराउन प्रयत्नशील देखिन्छिन् कविताहरूमा गीताश्री ।” भूमिकामा दीपक सुवेदी लेख्छन्, “परमतत्त्व मात्र रहस्यमय हुन्न, सामान्य फूल पनि परमतत्त्व जस्तै रहस्यमय हुन्छ, देवकोटाले भने जस्तै- उद्यानमा बस गई सब तत्त्व खुल्दछन् । त्यस्तो रहस्य प्रत्येक अनुभूतिको तीव्रता र नवीनतामा रहन्छ । विगत बसन्तको फूल वर्तमान वसन्तमा पनि किन त्यतिकै सुन्दर लाग्छ ? यसको उत्तर दार्शनिक वा वैज्ञानिकसँग छैन र मनोवैज्ञानिकसँग पनि छैन। यसको उत्तर त गीताश्री जस्तै कविसँग पाउँछौँ र पाठक उनीहरूसँग कविता माग्छन् । गुड कति मिठो हुन्छ, त्यो लाटाले पनि बुझ्छ, तर ऊसँग भाषा छैन । पाठकहरू कविहरूसँग त्यसको भाषा माग्छन् । साहित्य, सङ्गीत र कलाले हृदयका रहस्यकै उद्घाटन गर्छन् ।”

पुस्तकलाई जनपक्ष प्रकाशनले बजारमा ल्याएको हो । १ सय ५८ पृष्ठमा मौलाएको यसको मूल्य ५ सय रुपियाँ रहेको छ ।

====

४. आकाश ओढेको डोल्पो – भवानी खतिवडा

‘घामभन्दा पहिले’ नियात्रासंग्रहका लेखक भवानी खतिवडा सशक्त नियात्राकार हुनुहुन्छ । उहाँको तेस्रो नियात्रा कृति हो – “आकाश ओढेको डोल्पो” ।

पुस्तक २ सय ११ पृष्ठमा फैलिएको छ । जसमा ‘बाटो लागेपछि’, ‘हेल्लो ड्रागन फल !’, ‘भेरीको तीरैतीर’, ‘भेलपुरी जोडी’, ‘फोक्सुण्डोको शे रमाइलो’, ‘यार्सा चिर्यस’, ‘ती नौ थान पुतली’, ‘चीसो रातः मीठो सम्झना’ आदि १६ थान शीर्षक समावेश छन् ।

भुवनहरि सिग्देल लेख्छन्, “गाह्रो छ नि नारीवर्गलाई साहसिक यात्रामा हिँड्न तर यी यात्रीका पाइताला रोकिएका छैनन् । उनी सगरमाथा बेसक्याम्पतिर जान्छिन् बाटामै नीमा भेटिन्छिन्, आफ्नै अद्भुत जीवन कहानी लिएर । यहाँ डोल्पा भ्रमणमा भेटिन्छन् पदम बा र उनकी बुहारी अस्मिता । संयोग पनि अचम्म लाग्ने, तिनले पाठकलाई संवेद्य बनाइदिन्छन् । यो नियात्रा पढेर डोल्पा यात्रा गर्ने कसैले पनि पदम बा र अस्मितालाई अवश्य खोज्छन् । भाषामा जादू भर्ने कला त भवानीसँग सिके हुन्छ । शे-फोक्सुण्डोको अलौकिक वणर्न, त्यसमाथि ठाउँठाउँमा कविता र गीतका गहनाले चिटिक्कै पारेकी छिन् भवानीले, यो आकाश ओढेको डोल्पोलाई ।”

महेश पौड्याल उल्लेख गर्छन्, “भवानी खतिवडाका पाइतालामा रहर, आँट र उत्साहले चक्र कुदेको छ भन्दा अत्युक्ति हुने ठाउँ देख्दिनँ । जेजे दुष्कर, अभेद्य र जोखिमपूर्ण देखिन्छ, यही नै उनको गन्तव्य भइदिन्छ । जुन समय र मौसम प्रतिकूल लाग्छ, त्यही उनको छनोटमा परिदिन्छ । यी दृढनिश्चयी पथिकका मनमा गुनासो कहिल्यै वास बसेको देखिँदैन । डोल्पाको भ्रमणमा बाटैभरि भूगोल, कृषिबाली र कविताका झङ्कारसँगै हिँड्ने/हिँडाउने यी शब्दमल्लिका डोल्पाका दुर्गम टाकुरा, भीरपाखा, झरना र तालहरूमा आनन्दका रङ भेट्टाउँछिन् र बादलले धरतीमाथि बर्सातका छिटा छरेझैँ खुशी छर्छिन् । धरती, प्रकृति र पौरखीप्रति सदा शिरनत रहने यी स्रष्टाको सौन्दर्यचेतको सिमाना कतै पनि देखिँदैन ।”

पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।

====

५. आइ पो हाल्छ कि ! – राजेन्द्र श्रेष्ठ

कवि राजेन्द्र श्रेष्ठकृत कवितासंग्रह हो – “आइ पो हाल्छ कि !” ।

यसमा ‘जन्म, जीवन, मृत्यु’, ‘म एउटा स्तम्भ खडा गर्छु’, ‘मजा यसैमा छ ’, ‘कस्ता थिए ग्राम्सी’, ‘गुरु सम्मान’, ‘आमा’, ‘सम्झना आउँदा तिम्रो’, ‘म’, ‘हामी गोविन्द केसी बन्यौँ’, ‘वर्जित छ’, ‘जन बहिष्कार’, ‘जीवनको सफलतासँगै’, ‘फेरिनुपर्ने पात्र’, ‘मेरा सपनालाई मसँगै जल्न देऊ’ लगायत ६७ कविता संग्रहित छन् ।

“यो संग्रह झन्डै दुई दशक लामो कालखण्डका राजनीतिक, सामाजिक, सांस्कृतिक परिवेश र त्यसले नेपाली मानसिकतामा परेको प्रभाव नै यस कृतिका कविताहरूको कथ्य सन्दर्भ हुन् । कवितामा वैयक्तिक जीवनसँग सहसम्बन्ध राख्ने पात्र, घटना प्रवृतिप्रति आलोचनात्मक दृष्टि प्रस्तुत छ । विचारको उन्मुक्तताले गर्दा बहुविध विषय, प्रसङ्ग यसमा समेटिएका छन् । राष्ट्रिय जीवनको दूरगामी घटना-प्रसङ्गप्रति कविको चनाखो चासो देखिन्छ । उनी अग्रजहरूप्रति अनुगृहीत छन् । सीमान्तीकृत वर्गका आम मान्छेहरूप्रति सहानुभूतिशील देखिन्छ। राज्यको विभेदकारी चरित्रप्रति कठोर छन् । आफ्नो पेशाप्रतिको निष्ठा, साहित्य-कविताप्रतिको अनुराग राख्छन् ।” भूमिकामा आर.एम. डङ्गावल लेख्छन्, “इतिहासको विरासतलाई बिर्सन नहुने मतमा उनी अडिग छन् । राष्ट्रियताप्रति उत्तिकै संवेदनशील छन् । मुलुकको राष्ट्रिय जीवनसँग खेलबाड गर्नेहरूप्रति खबरदारी पनि यस कृतिका कवितामा गरिएका छन् । कविताका वर्ण, शब्द, पद-वाक्यविन्यासको लालित्यपूर्ण खेल हुन्छ । त्यो खेलमा उनले आनन्द लिएका छन् ।”

धेरै दिनपछि आज मित्र राजेन्द्र श्रेष्ठसित भेट भयो, एक काव्यात्मक भेट। क्याफेमा । क्याफेको भेट एक अविस्मरणीय भेट रह्यो। यसअगि हाम्रो कैयौँ भेट सामाजिक सञ्जालको चौतारोमा गीत, कविता र सिनेमाका बारेमा चर्चा, विचार वा विचार विनिमय गर्दै भएको थियो ।

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा प्रकाश साय्मी लेख्छन्, “यसपालि मैले उहाँलाई भेट्दा सम्पूर्ण रूपमा एक कविका रूपमा भेटें, उदासीन साँझमा लेखिएका दिनमान कविताका साथमा । कविता र कविको सम्बन्ध अनौठो हुन्छ, कहिले लेखिन्छ र भित्रैबाट छापिन्छ तर कुनै कविता लेखिँदैन तर भित्रै छापिन्छ । यस्ता धेरै कवितामा समवेदना, स्वर र सौम्यता एक साथ देखिन्छ । देखिँदैन त मसीका दाग अनि त्यसमा प्रिन्ट मिस्टेकको रिपोर्ट । कवि राजेन्द्र श्रेष्ठका कविता मेरा निम्ति मसीका दाग नभएका तर मसीले गहिरोसित लेखिएको एउटा सुन्दर कविता हो ।”

पुस्तकलाई बिनिता रञ्जित र अनिराज पोखरेलले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य १ सय ७५ रुपियाँ रहेको छ ।