रुपन्देही । रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवाहरुको समूह ‘उज्यालो लाल्टिन प्रतिष्ठान’को नवौं साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले समज्ञा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुरज भण्डारी, सचिव यमुना गैरे, सहसचिव विराट भुषाल, कोषाध्यक्ष अस्मिता बराल रहेका छन् । समितिका सदस्यहरुमा एलिना हमाल, आस्था बिक, सृष्टि भण्डारी, रेनुका थारु, उर्मिला ज्ञवाली र सोनी भण्डारी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विगत ८ वर्षदेखि अनेकौँ चुनौतीहरुको सामनाका बाबजुद समुदायको पक्षमा उभिएर विसङ्गति र कुरितिको विरुद्धमा लड्दै आएको उज्यालो आफैँमा एक उदाहरण अभियान रहेको बताउनुभयो । उज्यालोको स्थापना कालदेखि नै थालनी गरेको नवीनतम संस्कार अनुकरणीय रहेको तथा आगामी दिनमा पनि समाजले उज्यालोको प्रयास र योगदानको अपेक्षा राखेको उहाँले बताउनु भयो ।

त्यस्तै, संस्थाका संस्थापक अध्यक्षको सोतन्त्र नेपालले सामाजिक कार्य र समाजसेवा भनेको एक भावना रहेको र यो भावनालाई सधैव जिवित राख्नु पर्ने बताउनुभयो । लाल्टिन प्रतिष्ठानले नेपाली भाषा र साहित्यको माध्यमबाट समाजलाई सकारात्मकतातिर डोर्याउदै लैजानु पर्ने र समाजका हरेक सभ्य नागरिकले समाजको लागि योगदान गरेको खण्डमा समाजको सौर्न्दर्यतालाइ कायम राख्न सकिने उहाँकाे मत थियो ।

यसैगरी, निवर्तमान अध्यक्ष सागर भट्टराईले कोभिडपछिको अस्थिर मानसिकतालाई समेटेर समाजको हितमा प्रतिबद्ध गराउन निकै चुनौतीपूर्ण रहे तापनि दृढ संकल्पका अगाडि चुनौतिको उचाई सधैंव सानो हुने यथार्थलाई आत्मसात गर्दै उज्यालोको अभियानमा जोडिनु हुने सम्पुर्णप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतको उपसचिव प्रेमनारायण पराजुली, समाजसेवी लिला बल्लभ भट्टराई, सरस्वती बस्याल, देपेश विक्रम मल्ल, पवन पौडेल, श्याम थापा, गोपाल पाण्डे, डा. आविष्कार पराजुली, दिपक चापागाईंलगायतले बोल्नुभएकाे थियो । उहाँहरूले उज्यालोले समाजको कयौँ अँध्यारो पक्षलाई उजागर गर्दै उज्यालो छर्ने काम गरेको बताउनुभएकाे थियो ।