साहित्यिक चौतारी, नेपालको १० औं वार्षिकोत्सवको अवसर पारी मधेश प्रदेश, वीरगञ्ज महानगरपालिकाको अनमोल पार्टी प्यालेसमा एक भव्य समारोहका बीच साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यिक चौतारी, नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका माननीय सभामुख रामचन्द्र मण्डल हुनुहुन्थ्यो । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नेपाली भाषा साहित्यका धरोहर, पूर्व प्राज्ञ सदस्य एवम संस्थाका वरिष्ठ सल्लाहकार प्रा.डा. देवी नेपाल र शिक्षा विभागका पाठ्यक्रम निर्देशक डा. गणेश भट्टराई हुनुहुन्थ्यो ।

अतिथिहरुमा सिर्जनशील साहित्यिक समाज (सिसास) रुपन्देहीका पूर्व अध्यक्ष एवम् सल्लाहकार कवि/साहित्यकार नारायणप्रसाद भण्डारी, गजलकार सरु ज्ञवाली, समीक्षक रामचन्द्र अधिकारी, ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापकलगायतले शुभकामना मन्तव्य दिनुका साथै रचना वाचनसमेत गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षाकोषका मधेश प्रदेशका प्रमुख ऋषिराम पाण्डे, मुक्तककार कमला भण्डारी ढकाल, रामप्रसाद सुवेदी, गोमविक्रम, शङ्कर ढकाललगायतका देशका विभिन्न स्थानबाट आएका र स्थानीय गरी करिब १५० जनाभन्दा बढी साहित्यकारहरुको जमघट रहेको थियो ।

३ दिनसम्म सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई नेपाली भाषा र साहित्यको विकास तथा पाठ्यक्रम सम्बन्धी प्रशिक्षण/कार्यशाला गोष्ठीसहित छन्द प्रशिक्षण र अभ्याससमेत गराइएको थियो । धेरै नवोदित विद्यार्थीहरुले साहित्यका विविध विधामा आफ्नो कविता, निबन्ध, लेख, रचना, कला र प्रस्तुति दिएका थिए ।

कार्यक्रममा उल्लेख्य रुपमा महिला तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी, नेपालका महासचिव रामप्रसाद सुवेदीले र अतिथिहरुको स्वागत कोषाध्यक्ष कमला भण्डारी ढकालले गर्नुभएको थियो ।

उक्त अवसरमा कमला भण्डारी ढकालको मुक्तक सङग्रह “आधा जून”, गोमविक्रमको मुक्तक सङग्रह “समयका प्रतिध्वनिहरु” र शङ्कर ढकालको खण्काव्य लोकार्पण गरिएको थियो भने साहित्यिक चौतारी, नेपालको सँगालो साहित्य चौतारीसमेत विमोचन गरिएको थियो ।

साहित्य चौतारी नेपालका हाल ४० भन्दा बढी शाखाहरु क्रियाशील रहेका छन् । देश र विदेशमा समेत शाखाहरु रहेका छन् । नेपाली भाषा र साहित्यको विकासमा निरन्तर १० वर्षदेखि यो संस्था लागिपरेको छ ।