काठमाडौँ । यस वर्षको ‘पराक्रम बालप्रतिभा पुरस्कार’ छात्रा मिनुमाया प्रजालाई प्रदान गरिने भएकाे छ ।

साहित्यसेवी रमा अधिकारी तथा महेश पौड्यालले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको ‘पराक्रम बालप्रतिभा पुरस्कार’, वर्ष २०८० का लागि लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालित कुमार बलराम स्मृति छात्रावासमा आश्रित तथा श्री सरस्वती माध्यमिक विद्यालय, चौरी द्यौराली गाउँपालिका, छेडा, काभ्रेमा कक्षा १० मा अध्ययनरत छात्रा मिनुमाया प्रजालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार प्रतीक ढकालको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले प्रतिकूल आर्थिक र पारिवारिक पृष्ठभूमि भएर पनि पढाइमा अब्बल रहनुका साथै गायनकलामा पनि पारङ्गत प्रजालाई यो पुरस्कार अर्पण गर्ने निर्णय गरेको समितिकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले जानकारी दिएकी छिन् ।

पुरस्कार २०८० सालभित्रै विजेता प्रतिभाको विद्यालयमै गएर अर्पण गरिने पनि सदस्य–सचिव खतिवडाले सञ्चार माध्यमहरूलाई जानकारी गराएकी छिन् ।

विगत ६ वर्षदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारमा नगद राशि १५ हजार तथा सम्मानपत्र रहेको छ ।

यसअघि यो पुरस्कार आंशिक मस्तिष्क पक्षाघात भएका तर नाकले लेख्न सक्ने दोलखाका कवि प्रतिभा दर्शन केसीलाई, प्रतिकूल आर्थिक अवस्था भएको परिवारबाट आएर पनि जिल्लाभरि वक्तृत्व कलामा अब्बल प्रतिभा देखाउँदै आएकी काभ्रे पाँचखालकी क्षात्रा तारा तामाङलाई, पछाडि परेको चेपाङ समुदायमा गायन प्रतिभाका लागि अब्बल मानिएका चितवनका प्रेम चेपाङलाई तथा दृष्टिविहीन रहेर पनि सङ्गीत र अध्ययनमा पोख्त, आदर्श माध्यमिक विद्यालय, मध्यपुर ठिमीका विद्यार्थीह एलिशा फुयाल र योगेश राईलाई प्रदान गरिसकिएको छ ।