
कवि सृजना अर्याल अधिकारीको ‘बोध अन्तर्बोध’ कवितासंग्रह लोकार्पण गरिएको छ ।
शनिवार धादिङमा प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुइँटेल, कवि नवराज लम्साल, कविकी माता लक्ष्मी अर्याल लगायतले कवितासंग्रहको लोकार्पण गरेका हुन् ।
‘बोध अन्तर्बोध’ कवितासंग्रहमा नेपालबाट युवा पुस्ता रित्तिने र देश वृद्धाश्रम हुने अवस्थाको चित्र व्यक्त भएको छ । देशको दुर्गमता, विकटताको परिस्थिति र त्यहाँका दुखेसोहरू कविताले बोलेको छ । बेला बेलामा आउने भूकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृजनाको दृष्टि पुगेको छ ।
समालोचक डा. रामहरि लम्साल भन्छन्, ‘छिमेकी अतिक्रमणको व्यवहार, राष्ट्रको स्वाभिमान, पुर्खाको गौरवको गुणगान र देशका लागि जीवन बलिदान गर्ने पुर्खाको संस्मरण पनि यहाँ छ ।’
बोध अन्तर्बोधभित्रका कविताले कवि शिरोमणिको कविताको स्वाद दिलाएको मदन पुरस्कार विजेता कवि नवराज लम्सालको बुझाइ छ ।
कवि सृजनाले ‘बोध अन्तर्बोध’लाई आफ्नो चौथो सन्तानको रूपमा लिएकी छन् । देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाक भयावह अवस्थाको चित्रण गरिएको उनको भनाइ छ । जिन्दगीको कष्टसाध्य अवस्था र ईर्ष्यामुक्त समाजको कल्पना कवितामा व्यक्त भएको छ भने ६ वटै ऋतुहरूको परिवर्तनको समीक्षा गरिएको छ । मान्छेको बाध्यता र परिस्थितिलाई पनि कविताको माध्यमबाट व्यक्त गरिएको छ ।
बोध अन्तर्बोध कवितासंग्रह लोकार्पणसँगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

