कवि युवराज भण्डारीका कृतिद्वय ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’को परिचर्चा सम्पन्न भएको छ । नेपाली साहित्य समाज क्यानडाको आयोजनामा भर्चुअल माध्यमबाट परिचर्चा कार्यक्रम भएको हो । सदा जस्तै यस पटक पनि विभिन्न सर्जकहरूले आफ्नो कविता वाचन गरेका थिए ।

समाजका महासचिव कवि मोहन खरेलद्वारा सञ्चालित उक्त कार्यक्रममा कवि तथा गजलकार डा. ऋषि बस्ताकोटीले ‘भावनाको तस्वीर’ गजलसङ्ग्रह र संस्थाका अध्यक्ष कवि डा. खेम गुरागाईंले ‘अर्को कर्नाली’ कवितासङ्ग्रहको परिचर्चा गरेका थिए ।

‘भावनाको तस्वीर’को चर्चा गर्ने क्रममा बस्ताकोटीले भण्डारीको साहित्यिक र सामाजिक जीवन बारे बोल्दै पचासकै दशकमा गजल लेखन सुरु गरेका गजलकार भण्डारीको सत्तरीको दशकपछि देखिएको सक्रियतालाई उनको पुनरागमन भन्न सकिने कुरा बताए । साथै उनले आफूलाई मन परेका केही गजलहरू पनि वाचन गरेका थिए ।

गजलसङ्ग्रहको विविध आयाम माथि समीक्षा गर्दै बस्ताकोटीले भने, “‘भावनाको तस्वीर’मा सङ्गृहीत गजलहरूमा काफिया, रदिफ र गजलका अन्य सिद्धान्तहरूको गजलकारले इमानदारीपूर्वक प्रयोग गरेका छन् । विम्ब र शिल्पीका पुष्प गुच्छाले उनेर उनले भावनाका सुन्दर एक सय एक तस्वीरहरू सिर्जेका छन् । सङ्ग्रहमा सङ्कलित गजलहरू प्रेममा मात्र सीमित छैनन् । देश, परदेश, राजनीति, जीवन दर्शन, गरिबी, युद्ध आतङ्क र अन्य विविध विषयमा फैलिएका छन् । यस कृतिमा मुसलसल र गैरमुसलसम दुवै किसिमका गजल छन् । गजलकारले मक्तामा आफ्नो नाम या उपनाम पनि जोडेका हुन्छन् । यसरी जोडिने उपनामलाई तखल्लुस भनिन्छ तर गजलमा तखल्लुसको प्रयोग अनिवार्य छैन । यस कृतिमा समावेश गजलहरूमा तखल्लुसको प्रयोग कमै पाइन्छ । गजलको परिमार्जित संरचनालाई मध्यनजर राखेर गजल सिर्जनामा लाग्नु आजका गजलकारको धर्म हो जस्तो लाग्छ । यस्तै एउटा कुशल गजलशिल्पीको रूपमा भण्डारीको आगमन भएको छ । यो कृति प्रवासबाट नेपाली गजलमा आएको एउटा महत्त्वपूर्ण प्राप्ति हो ।”

साहित्य भन्ने बित्तिकै विभिन्न वाद होला, विचार होला, अस्तित्व, आशा निराशा अनि रूपरङ होला, ‘अर्को कर्नाली’माथि चर्चा सुरु गर्दै खेम गुरागाईंले भने, “यी सबै कुराहरूको काव्यिक मिश्रणको रूपमा यो किताबलाई पाएको छु । यस सङ्ग्रहमा विविध विषयका कविताहरू छन् । लेखकले अनेकन् पात्र र विम्बहरूको माध्यमबाट आफूलाई पस्केका छन् । तथापि यस कृतिमा मेरुदण्डको रूपमा एउटा पात्र छ । यो विम्बको रूपमा छ, छायाँको रूपमा छ, कुनै न कुनै रूपमा कवि त्यो पात्रको वरिपरि घुमिरहेको जस्तो लाग्छ । यो कृतिमा बडो वजनदार भएर बसेको त्यो पात्र आमाको रूपमा छ ।”

भण्डारीका दुवै कृतिहरू भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।